+
+

ट्रम्पले पूर्वपोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा अदालतले आज निर्णय सुनाउने

सजायँ सुनाउने निर्णय रोक्नुपर्ने ट्रम्पको अनुरोधलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा बहस हुँदा अदालतका न्यायाधीशहरुले बहुमतको आधारमा नस्वीकार्ने निर्णय गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते ९:५०

२६ पुस, काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा आज निर्णय सुनाउँदै छ ।

पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा ट्रम्पविरुद्ध आज अदालतले निर्णय सुनाउन लागेको हो ।

ट्रम्पले त्यसलाई रोक्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ । सजायँ सुनाउने निर्णय रोक्नुपर्ने ट्रम्पको अनुरोधलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा बहस हुँदा अदालतका न्यायाधीशहरुले बहुमतको आधारमा नस्वीकार्ने निर्णय गरेका हुन् । ५ जना न्यायाधीशले सजायँ सुनाउनुपर्ने र ४ जनाले सजायँ सुनाउन नहुने पक्षमा मत व्यक्त गरेका बीबीसीले जनाएको छ ।

अब अदालतले ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे अदालतबाट निर्णय हुने बताइएको छ ।

यदि अदालतले सजायँ सुनाएमा कानुनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन् । यद्यपि उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने बताइएको छ ।

ट्रम्पले भने न्यूयोर्क अदालतको यो तयारीलाई अवैध राजनीतिक हमला भनेर आलोचना गरेका छन् । अदालतको तयारीबारे प्रतिक्रिया दिने क्रममा ट्रम्पले त्यसलाई बदनियतपूर्ण समेत भनेका छन् ।

ट्रम्प पक्षले न्यायाधीशको कदमको आलोचना गर्दै उक्त मुद्दा तत्काल खारेज हुनुपर्ने बताएको छ । ट्रम्पका प्रवक्ताले कुनै अवरोध विना ह्वाइटहाउस प्रवेश गर्न दिन र राष्ट्रपतीय शक्ति हस्तान्तरण गर्न भनेका छन् ।

मुद्दा के हो ?

सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।

त्यसपछि यो विषयमा उनलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । यो कसुरमा ट्रम्प दोषी ठहरिएका थिए । ट्रम्पले भने उक्त आरोप अस्वीकार गर्दै आफूले गलत काम नगरेको जिकिर गर्दै आएका छन् ।

सन् २०२४ को चुनाव प्रचार अघि यी सहितका अन्य फौजदारी अभियोगको सामना ट्रम्पले गर्नुपरेको थियो । त्यतिबेला उनले आफूलाई राष्ट्रपतिको निर्वाचनमा रोक्ने उद्देश्यले गलत आरोपहरु लगाइएको टिप्पणी गर्दै आएका थिए ।

यद्यपि उनी सन् २०२४ मा राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका थिए । केही पदहरुमा नियुक्ति समेत गरिसकेका ट्रम्पले जनवरी २० देखि अमेरिकी सत्ता सम्हाल्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?