
काठमाडौं । सेलेब्रिटीले पर्यटन प्रबर्द्धनको पहल थालेका छन् । मनीषा कोइराला, राजेश हमाल लगायतका कलाकारले विभिन्न पर्यटकीय थलोलाई चिनाउने उद्देश्यले ‘यात्रा नेपाल’को नामक ट्राभल डकुमेन्ट्री शोको छायांकन गरेका हुन् ।
केही दिनअघि नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’ फेम्ड मनीषाले अन्नपूर्ण आधार शिविर र कास्कीको घान्द्रुक भ्रमण गरेर उक्त शो छायांकन गरिन् । प्राप्त तस्वीरमा मनीषाले घान्द्रुक र अन्नपूर्ण फेरोमा पदयात्रा गर्दै रमाइरहेको देख्न सकिन्छ ।
मनीषाले नेपालकै यी प्राकृतिक थलो घुम्न आउन आग्रह गरेकी छन् । मनीषा आफै पनि पदयात्रामा रुचि राख्छिन् । स्विटजरल्याण्डदेखि सगरमाथा आधार शिविरसम्म उनले यसअघि पदयात्रा गरिसकेकी छन् ।
राजेश हमालले भने केही महिनाअघि आफू जन्मिएको थलो पाल्पाका विभिन्न गाउँ घुम्दै पर्यटन प्रबर्द्धन गरेका छन् । हमालले त्यहाँका ठाउँ, रहनसहन र मानिस चिनाउँदै एकपटक पाल्पा र आसपासका क्षेत्र घुम्न आउन आग्रह गरेका छन् । तानसेन लगायतका थलोमा हमालको भागको छायांकन भैसकेको छ ।
यो ट्राभल डकुमेन्ट्री शोलाई दशरथ सुनारले निर्देशन गरिरहेका छन् । उनले संचालन गरिरहेको भीएफवाई टक्सको लागि शो छायांकन गरिएको हो । यो शो प्रसारण हुने टेलिभिजनको भने टुंगो लागिसकेको छैन । कूल १६ एपिसोडमा विभिन्न व्यक्तित्वले पर्यटकीय थलो प्रचारप्रसार गर्नेछन् ।
भारतीय अध्यात्म गुरु मा आनन्द शीलाले काभ्रेको धुलिखेल प्रबर्द्धन गरेकी छन् । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति र गुरिल्ला पदमार्गको प्रवद्र्वन गर्नेछन् । प्रचण्डको छायांकन हुने तयारीमा रहेको निर्देशक सुनारले जानकारी दिए ।
क्रिकेटर पारस खड्काले खेल पर्यटनको प्रबर्द्धन गर्नेछन् । गायिका आनीछोइङ डोल्माले संगीत र साधनाको प्रबर्द्धन गर्नेछन् । आगामी एक महिनामा यो शो स्ट्रिमिङ हुने जनाइएको छ ।
प्रतिक्रिया 4