
१ माघ, काठमाडौं । ३२ वर्षे उमेरहद लागु भएपछि पनि नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको अध्यक्षमा दर्जन बढी आकांक्षी देखिएका छन् ।
क्रान्तिकारीको चुनाव यही १२ माघमा हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता ५ माघका लागि तय भएको छ । मनोनयन दर्ता नजिकिएसँगै नेतृत्वका आकांक्षीहरूको दौडधुप बढेको छ ।
नेताहरूका अनुसार अध्यक्षमा पर्वतका विजयप्रकाश सापकोटा, अछामका नवीन उपाध्याय, भोजपुरका हेमन्त राई, म्याग्दीका सुदीन पौडेल, रौतहटका उपदेश यादव सिन्धुपाल्चोकका श्याम रोकाको दाबेदारी छ ।
पौडेललाई उपमहासचिव वर्षमान पुन पक्षधर, राईलाई उपमहासचिव जनार्दन शर्मा पक्षधर र यादवलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी पक्षधरले अगाडि सारेका हुन् । अध्यक्ष प्रचण्ड पक्षधरहरूबाट भने कम्तीमा चारजनाको दावेदारी छ ।
उपाध्याय, पौडेल, सापकोटा र रोकालगायतलाई प्रचण्ड पक्षधरले अगाडि सारेको माओवादी स्रोत बताउँछ । पुनले अघि सारेको भनिए पनि पौडेलले आफूलाई संस्थापन पक्षकै उम्मेदवार भनी कार्यकर्तामाझ परिचित गराउन थालेका छन्।
यस अलावा क्रान्तिकारीमा अध्यक्षका आकांक्षी अरु पनि छन् । डोल्पाका योगेन्द्र बुढा, मधेश प्रदेशका विश्वमणि थापा र हाल क्रान्तिकारीको उपमहासचिव रहेकी तिर्सना हमाल पनि अध्यक्षका आकांक्षी छन् ।
रोशन थापा मगर, गोविन्द बानियाँ र सञ्जयकुमार महतो पनि क्रान्तिकारीको नेतृत्वका आकांक्षी देखिएका छन् । नेतृत्वका आकांक्षीहरूले आन्तरिक तयारी र नेताहरूसँगको संवाद दुवै बढाएका छन् ।
मदन ढकाल, ममता अधिकारी, विराज थापा र रमेश आचार्य पनि नेतृत्वका आकांक्षी हुन् । तर, विधानका कारणले केही आकांक्षी उम्मेदवार नै हुन नपाउने अवस्थासमेत रहेको छ ।
नेताहरूका अनुसार विधानले पदाधिकारी लड्न एक कार्यकाल कार्यसमिति वा सचिवालय सदस्य हुनुपर्ने र अध्यक्ष लड्न एक कार्यकाल पदाधिकारी हुनुपर्ने भनेको छ ।
प्रतिक्रिया 4