+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कन्काई पुल : १३ वर्षमा आधा काम

पाँच पटकसम्म ठेक्काको म्याद थपिए पनि पक्की पुल निर्माणमा गति आएको छैन । बाँसको अस्थायी पुल तार्न ठेकेदारले मोटरसाइकललाई एकतर्फी ५० र पैदल यात्रीलाई २० रुपैयाँ लिने गरेका छन् ।

रासस रासस
२०८१ माघ ३ गते ९:१६

३ माघ, झापा । झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ ।

विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्नुपरेको छ ।

यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।

पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचौं पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।

पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

स्थानीय समस्यामा

पटक–पटक मुख्यमन्त्री, निर्माण व्यवसायीलगायत सम्बन्धित क्षेत्रमा पहल गर्दा कुनै सुनुवाइ नभएको सोही क्षेत्रबाट कोशी प्रदेशसभा सदस्य लखीकुमारी गणेशले बताए । ‘लागत अनुमान अनुसार पुल निर्माणको काम नभएकाले अहिले आएर काम रोकिएको भन्ने बुझिएको छ’, उनले भने, ‘अहिलेको ठेक्का प्रक्रिया रोकी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउँदै अझै धेरै समय लाग्ने हुँदा पुरानोबाट नै लागत अनुमानअनुसार काम गराई पुल निर्माण सम्पन्न गर्नुपर्छ ।’

विगत १३ वर्षमा थुप्रै सरकार निर्माण भए, प्रधानमन्त्री भए, मन्त्री भए तर चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम अझै पूरा हुन नसकेकोमा गौरीगञ्ज–१ का स्थानीय टंकप्रसाद श्रेष्ठले दुःख व्यक्त गरे ।

‘अहिले पुल निर्माण क्षेत्रबाट निर्माण कम्पनीले आफ्ना सामान लगिसकेको अवस्था छ, अब कन्काई पुल निर्माण सम्पन्न होला र पुलमा यात्रा गरौंला भन्ने आश नै मर्‍यो,’ श्रेष्ठले भने ।

पुल बन्दाबन्दै के कारण विगत एक वर्षदेखि रोकिएको हो जानकारी नै नभएको झापा गाउँपालिका वडा नंं २ का वडाध्यक्ष हिमालकुमार चाम्लागाईले बताए । ‘यो पुल निर्माण सम्पन्न गर्न पटक–पटक सम्बन्धित निकायलाई अनुरोध गर्दा समेत सुनुवाइ हुन सकेको छैन’, उनले भने, ‘दैनिक हजारौँले आवतजावत गर्ने हुलाकी सडकमा यो पुल छिटो बनेमा सेवाग्राही लाभान्वित हुनेछन् ।’

काठेपुल तर्दा शुल्क तिर्नुपर्ने

लामो समयसम्म पनि कन्काई नदीमाथि पुल निर्माण सम्पन्न नभएपछि यहाँबाट आवतजावत गर्ने मानिसहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा डुंगा सञ्चालनका लागि दुई लाख ३० हजारमा ठेक्का दिएको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताउँछन् । उनका अनुसार उक्त ठेक्का लिने व्यक्तिले नै आफ्नै पहलमा हिउँद याममा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम भइरहेको छ ।

ठेक्का लिएका ईश्वर माझीका अनुसार कन्काई नदीमा बनाइएको बाँसको अस्थायी पुल तार्न मोटरसाइकललाई एकतर्फी रु ५० र पैदल यात्रीलाई रु २० लाग्ने गरेको छ । यात्रालाई सहज बनाउन पुल निर्माण गरी सेवा दिइरहेको माझीले बताए ।

यो बाटो भई यात्रा गर्ने पैदलयात्री तथा मोटरसाइकल यात्रीले शुल्क उठाउने विषयमा विरोध गर्दै आएका छन् । विरोध बढ्दै गएपछि बाँसको पुलमा यात्रा निःशुल्क गर्ने विषयमा संवाद भइरहेको गौरीगञ्ज–१ का अध्यक्ष राजवंशीले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?