 
																			१४ माघ, काभ्रेपलाञ्चोक। गत मंगलबारबाट खानीखोला गाउँपालिका हुँदै बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्रको थामलेकमा लागेको भीषण आगलागी एक सातापछि नियन्त्रणमा आएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आगलागी एक हप्तापछि नियन्त्रणमा आएको भएपनि केही ठाउँमा पुराना ठूला रूखका ठुटाहरूमा आगो निभ्न बाँकी रहेको जानकारी दिए।
उनले अनलाइनखबरसँग भने, ‘वनमा लागेको डढेलो एक सातापछि आफै पूर्ण रुपमा नियन्त्रणमा आएको छ । डढेलो फैलिनसक्ने क्षेत्रमा पूर्णरुपमा नियन्त्रण भइसकेको भएपनि खोँचहरु तथा अझै केही ठाउँमा पुराना ठूला रूखका ठुटाहरूमा आगो निभ्न बाँकी छ। ‘

काभ्रेपलाञ्चोककै अग्लो स्थान बेथानचोक गाउँपालिकामा पर्ने बेथानचोक नारायणस्थानको यात्रा खुलेको छ। आगलागी जोखिम भएको क्षेत्र भएकोले रोकिएको यात्रा आगलागी नियन्त्रणमा आएसँगै खुल्ला गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष अधिकारीले बताए ।
गत बुधबार पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं. १, २, ३ र ५ को वन क्षेत्र जोखिममा रहेको जानकारी गराउँदै पालिकाले आगलागी नियन्त्रण नहुँदासम्म त्यस क्षेत्रमा नजान आग्रह गरेको थियो ।
यस्तै जिल्ला वन कार्यालय काभ्रेका डढेलो फोकल पर्सन चीनकाजी श्रेष्ठका अनुसार खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाका ५ वटा सामुदायिक वनको झण्डै १ सय हेक्टर वन आगलागीले नष्ट भएको छ ।
उनले भने, ‘थामलेकको चिसापानी सामुदायिक वन, मूलडाडा चोरण्डे सामुदायिक वन, जनजागृती सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वन आगलागीले नष्ट गरिदिएको छ।’

त्यस्तै भुम्लु-४ चौवासमा रहेको धारापानी र चापानीगढी सामुदायिक वनमा लागेको आगो समेत पूर्णरूपमा नियन्त्रणमा आएको जिल्ला वन कार्यालय काभ्रेका डढेलो फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
यसअघि महाभारत क्षेत्रमा लागेको डढेलो निभाउन हेलिकोप्टरबाट करिब २४ हजार लिटर पानी खन्याउँदा पनि आगो नियन्त्रणमा आउन सकेको थिएन ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4