 
																			२७ माघ, काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलिएको छ । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच भएको छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताले जानकारी दिए ।
आफूहरुले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै वार्ता बस्ने गरी माग गरेको तर वार्तामा कर्मचारीको नेतृत्वमा उपस्थित भएकाले आफूहरूले छलफल नै अगाडि नबढाएको मेहेताले बताए । ‘उहाँहरुले केबलकार जसरी पनि बन्ने र त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्तावतिर जानुभयो’, उनले भने, ‘त्यसमा हामी छलफल नै गर्न चाहँदैनौं ।’
आजको बैठकमा गृहमन्त्रालयका तर्फबाट प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता भएको थियो । तर आन्दोलनरत पक्षले कर्मचारी नभइ राजनीतिक संयन्त्रसँगमात्रै वार्ता गर्ने अडान राखेका हुन् ।
यो विषय राजनीतिक मुद्दा भएकाले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समिति गठन भएमात्रै आफूहरु छलफलमा सहभागी हुने मेहेताले बताए । त्यसका लागि आज साँझसम्म समय दिएको उनले बताए । ‘उहाँहरु भनेको कार्यान्वयनमात्रै गर्ने हो । यो राजनीतिक मुद्दा भएकाले हामी मन्त्री वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै छलफल गर्ने भनेका छौं’, उनले भने, ‘नभए भोलिदेखि हामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’
पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।
उक्त दिन भएको ६ बुँदे सहमतिमा माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो । त्यसक्रमा दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने, मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने सहमति भएको थियो ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4