+
+

पाथीभरामा केबलकारको विरोध गर्नेमाथि प्रहरीले चलायो गोली, दुई गम्भीर घाइते

आइतबारको प्रदर्शनका लागि तयारी गर्न भेला भएका बेला प्रहरीले गोली चलाएको आन्दोलनकारीहरूको भनाइ छ । ताप्लेजुङका सीडीओले भने प्रहरीमाथि ढुंगा र गुलेली हानेपछि सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८१ माघ १२ गते २२:३३

१२ माघ, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ ।

शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र सगुन लावती घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली लागेका एकजनालाई केही अघि र अर्का एकको भर्खरै अस्पताल ल्याइएको जानकारी दिए । उनका अनुसार पाथीभरा क्षेत्रको बलुडाँडाँ आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

‘उनीहरूमाथि थिए, माथिबाट गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ सीडीओ शर्माले भने, ‘दुई जना घाइते छन् ।’ शर्माका अनुसार घटना बेलुका करिब ६ बजेको हो ।

त्यसक्षेत्रमा आज दिनभर नै झडप भइरहेको थियो । त्यसक्रममा पहिचान पक्षधर सुमन लावती घाइते भएका थिए ।

ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो ।

पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् । उनीहरूले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थिए ।

आइतबारबाट आन्दोलनका लागि भन्दै पहिचान पक्षधरहरू बलुडाँडामा भेला भएका थिए । यो क्षेत्र पहिचान पक्षधरले सेल्टरको रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रहरी टोली पहिचान पक्षधरलाई तितरबितर पार्न आज दिउँसो सो क्षेत्रमा पुगेको थियो । त्यसक्रममा आन्दोलनका लागि तयारी अवस्थामा राखेका केही सामग्री पनि प्रहरीले खोसेको थियो । बेलुका फेरि प्रहरी पुगेपछि आन्दोलनरत पक्षले माथिबाट रोक्न खोजेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको हो ।

शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । ‘आइतबारबाट हाम्रो शान्तिपूर्ण विरोधको कार्यक्रम थियो, विरोधका लागि साथीहरू पुगेका ठाउँमा राज्यले बल प्रयोग गरेको छ,’ उनले भनिन्,‘ हाम्रा दुईजना साथीहरु गोली लागेर गम्भीर हुनुहुन्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?