
६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिएसँगै विद्यार्थी नेताहरूले रेक्टर कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद परिषद्मा ताला लगाएका छन् ।
पद्यमकन्या बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पसका स्ववियु अध्यक्ष प्रेम जैशीले रेक्टर खड्ग केसीको कार्यकक्षको ढोकामा ताला लगाएका छन् ।
आफूहरूसँग छलफल नै नगरी स्ववियु निर्वाचनको निर्देशिका बनाएको भन्दै उनीहरूले ताला लगाएका हुन् ।
निर्देशिकाको बुँदा १३ (४) मा स्ववियु सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्य समितिको कार्यकाल ४ चैतदेखि स्वतः समाप्त हुने भन्ने विषयलाई सच्याउन उनीहरूले माग गरेका छन् ।
‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३४८(घ) को विपरीत भएकाले उक्त निर्णय खारेज गर्न र निर्वाचनबारे अनावश्यक विवाद गर्नुको सट्टा छलफल र परामर्शसहित नियमसंगत ढंगले गल्लीहरू सच्याउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
उपकुलपति कपमा आर्थिक अनिमियतता भएको भन्दै अध्यक्ष पनेरु र जैशीले छानबिनको माग गरेका छन् । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूले जनाएका छन् ।
प्रतिक्रिया 4