 
																			६ फागुन, काठमाडौं । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा दुई नेपाली सुरक्षा अधिकृत पुगेका छन् ।
कलेजको होस्टलमा पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् ।
दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन् ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार, टोलीले विद्यार्थी कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्ने छ ।
‘भारतको प्रदेश सरकार, प्रहरी, केन्द्र सरकार सबैतिरबाट राम्रो समन्वय भइरहेको छ, नेपाली विद्यार्थीसँग समन्वय गर्नलाई हामीले उहाँहरुलाई पठाएका हौं’, शर्माले अनलाइनखबरसँग भने, ‘कुनै पनि किमिसले नेपाली विद्यार्थीलाई समस्या नहोस् भन्ने हाम्रो कुरा हो ।’
आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
उनले आफूलाई सोही कलेजमा अध्ययनरत् अड्विक श्रीवास्तवले पटकपटक दुर्व्यवहार गरेको भन्दै उजुरी दिँदा समेत कलेज प्रशासनले गम्भीरता देखाएको थिएन । बरु घटना ढाकछोप गर्न खोजेको थियो ।
त्यहीबीच प्रकृति मृत अवस्थामा भेटिएपछि विद्यार्थीहरुले गम्भीरतापूर्वक छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई कलेज प्रशासनले दमन गर्न खोजेको थियो, त्यसक्रममा विद्यार्थीहरुलाई सुरक्षागार्ड र प्रशासनका व्यक्तिहरुले दुर्व्यवहार गरेका थिए ।
कुटपिटमा संलग्न दुई सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरिसकेको छ भने कलेजका कर्मचारीहरु पनि बर्खास्तीमा परेका छन् । विद्यार्थीले अपशब्द प्रयोग गरेर गालीगलौज गर्ने प्राध्यापकहरुले अहिले माफी माग्दै भिडिओ राखिरहेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4