 
																			१३ फागुन, रतुवामाई (मोरङ) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताएका छन् । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उनको चेतावनी छ ।
‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
कसैको दया–मायाबाट नभई संघर्षको बलमा जनताका अधिकार प्राप्त भएको भन्दै उनले त्यसमा आँखा नलगाउन चेतावनी दिए ।
‘हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरू अहिले जनताले पाएका अधिकारलाई माओवादी एजेन्डा देख्न थालेका छन्,’ उनले भने, ‘जुन कुनै बहानामा जनताका अधिकार खोस्न खोजियो भने त्यो महंगो पर्नेछ ।’
अन्य दलसँग संघर्षभन्दा बढी समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सधैं कमजोर हुने अवस्था अब आउन नदिने बताए ।
अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि बढ्न सङ्कल्पसहित जनतामा आएको धारणा राखे ।

गिरिजाप्रसाद कोइराला र कुनै समय मदन भण्डारीको समेत निर्वाचन क्षेत्रमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइारला शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता र भण्डारी जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने नेता भन्दै स्मरण गरेका थिए । अहिलेको सरकार दुवै व्यक्तित्वको सपना पूरा गर्नतिर भन्दा निश्चित दलालको चाहनामा अघि बढिरहेको उनले आरोप लगाए ।
प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजार रुपैयाँसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको, नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेर उज्यालोको नयाँ युग सुरु गरेको भन्दै तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा महाअभियान थालेको बताए ।
सामाजिक न्यायको रुपमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्ने कानुन बनाइएको, मिटरब्याज पीडित, सहकारीपीडित र लघुवित्त नागरिकलाई न्याय दिने तथा देश भित्र र बाहिरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशलाई आर्थिक संकटबाट मुक्त गर्न महत्वपूर्ण थालनी गरिएको बताए ।
प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले सुरु गरेका मध्यपहाडी लोकमार्ग, मदन भन्डारी मार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका आयोजना पूरा हुने चरणमा हुनु खुसीको कुरा भएको उनको भनाइ थियो । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरूले कांग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी ढङ्गले अहिलेको सरकार बनेको स्पष्ट गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4