 
																						काठमाडौं । एक महिना लामो सांगीतिक टूरको लागि लोकप्रिय लोकपप रक ब्याण्ड नेपथ्य विहिबार अस्ट्रेलियातर्फ उडेको छ । टूरमा गायक अमृत गुरुङसहित ब्याण्ड र व्यवस्थापक नेपालयका सदस्यहरू छन् ।
दिउँसो १ बजे मलेसियन एयरलाइन्सको जहाजबाट उडेको नेपथ्य टोली अस्ट्रेलियाको सिड्नीमा अवतरण गर्नेछ । सोमबार अस्ट्रेलियाली राजधानी क्यानबेराबाट ब्याण्डले महिना लामो टूरको थालनी गर्नेछ ।
१ महिनासम्म ७ अस्ट्रेलियाली सहरमा ब्याण्डले प्रस्तुति दिनेछ । क्यानबेरामा ३ मार्च, पर्थमा ९ मार्च, ब्रिसबेनमा १४ मार्च, होबर्टमा १८ मार्च, एडिलेडमा २१ मार्च र मेलबर्नमा २४ मार्च र सिड्नीमा २९ मार्चमा प्रस्तुति दिने तयारी छ ।
लोकप्रिय ब्याण्डले टूर गर्ने भएपछि अस्ट्रेलियास्थित नेपाली डायस्पोरा उत्साहित छ । गत साउनमा कोलोराडोदेखि ब्याण्डले भव्य अमेरिका टूर गरेको थियो ।
नेपथ्यको लाइनअपमा मुख्य गायक अमृत गुरुङसहित ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी छन् ।
‘श्रोता दर्शकको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीत छनोट गरेका छौं,’ मुख्य गायक एवं अगुवा अमृतले भने, ‘त्यहाँका दर्शकलाई पहिलेको भन्दा फरक सेटलिस्ट सहित गीत सुनाउने तयारी पनि चल्दैछ ।’
नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्याण्डसँग नेपालय आवद्ध भएको यो २५ औं वर्ष पनि हो । यसबीच ब्याण्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफूलाई उभ्याइसकेको छ ।
‘नेपालीभाषीको उल्लेख्य उपस्थितीसँगै अष्ट्रेलियामा नेपाली कलाको बजार विकास भइसकेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसलाई अझ विस्तारित एवं दिगो बनाउँदै लैजान हामीले नेपथ्यलाई सदैव जिम्मेवारीपूर्वक उपस्थित गराउँदै आएकोमा यसपाला पनि त्यसले निरन्तरता पाउनेछ ।’
अष्ट्रेलियाका सबैजसो कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4