
२६ फागुन, काठमाडौं । सुशासनका लागि काम गर्ने संस्थाहरूको भेलाले भ्रष्टाचार, अनियमितता, दण्डहीनता र भागवण्डा मुलुकको प्रमुख समस्या बनेको ठहर गरेको छ । ती संघसंस्थाले सुधार गर्न सरोकारवालाहरूको ध्यानाकर्षण पनि गराएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायत सुशासन र जवाफदेहीताको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूले संवैधानिक प्रावधानविपरीत अधिकार प्राप्त निकायहरूबाट काम भएको, संवैधानिक निकायहरूमा गैरकानूनी नियुक्ती एवं भागवण्डा मौलाएको औंल्याउँदै अयोग्य व्यक्तिहरूको नियुक्ति रोकिनुपर्ने माग गरेका हुन् ।
उनीहरूले कानुन कार्यान्वयन नहुनु, पहुँचका आधारमा दण्डहीनता मौलाउनु र भ्रष्टाचार बढ्नुलाई मुलुकको समस्या मानेका छन् । उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘लोकतान्त्रिक संविधानको मूल्य, मान्यता र मर्मप्रति राज्यका सबै निकायहरू संवेदनशील तथा जवाफदेही हुनुपर्ने अत्यावश्यक देखिएको छ ।’
दलीय भागवण्डाको आधारमा नभई योग्यता र प्रतिस्पर्धाका आधारमा नियुक्त हुने परिपाटी विकास गर्नुपर्ने औंल्याउँदै उनीहरूले सेवा प्रवाह प्रभावकारी बनाउन माग गरेका छन् ।
प्रतिक्रिया 4