+
+
Shares

त्रिविले भन्यो– चुनाव भएका क्याम्पसमा शान्तिपूर्ण, बाँकीमा सहमतिको प्रयास जारी

पाटन क्याम्पस र पीएन क्याम्पसमा स्थगित भए पनि आज भएका अन्य क्याम्पसमा चुनाव शान्तिपूर्ण भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते २०:२२

५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव शान्तिपूर्ण भएको बताएको छ । पाटन क्याम्पस र पीएन क्याम्पसमा स्थगित भए पनि आज भएका अन्य क्याम्पसमा चुनाव शान्तिपूर्ण भएको जनाएको छ ।

‘पाटन क्याम्पसमा स्थगित गर्न आदेश दिएका छौं । भोटर कार्ड पर्ने थिएन । आइडी कार्ड, प्रवेश पत्र र नागरिकता भए हुने थियो । कार्डको विषयमा विवाद भएपछि अर्को मिति तोक्न भनेका छौं,’ शिक्षाध्यक्ष प्राडा खड्ग केसीले भने, ‘पीएन क्याम्पसमा मतपत्र छपाइमा त्रुटि भएकाले भोलिका लागि तोकिएको  छ । अरु ठाउँमा शान्तिपूर्ण चुनाव भएको छ ।’

उनका अनुसार त्रिविका ३८–४० वटा क्याम्पसमा आज चुनाव भएको छ । केही ठाउँको विवरण आउने क्रममा रहेको छ ।

त्रिविका ६२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने हो । ‘२०–२२ वटा आंगिक क्याम्पसमा चुनाव हुन सकेको छैन । सहमतिको प्रयास जारी छ । १५ दिन भित्रसम्म चुनावको मिति तोकेर गराउन भनेका छौं,’ उनले भने ।

काठमाडौं उपत्यकामा भने आज थापाथली इन्जिनियरिङ क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल कमर्श क्याम्पस, आयुर्वेद क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल, ललितकला क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, सानोठिमी क्याम्पस, महारजगन्ज नर्सिङ क्याम्पस, महारजगञ्ज चिकित्सा क्याम्पस, जनप्रशासन क्याम्पसमा चुनाव भएको छ ।

६२ आंगिकसँगै त्रिविको १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो यसबारे विवरण संकलन भइरहेको त्रिविले जनाएको छ ।

विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?