+
+
Shares
निटफेस्ट :

अन्तर्राष्ट्रिय नाट्य महोत्सव मण्डला थिएटरमा सुरु (तस्वीर)

चैत १२ गतेसम्म चल्ने महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुँदैछन् । नाटकसँगै कविता, संगीत, नृत्य प्रदर्शनी लगायत कार्यक्रम समावेश छन् । महोत्सवको पहिलो नाटकको रुपमा पशुपति राईद्वारा निर्देशित ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चन हुँदैछ । 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १८:०४

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण बुधबारदेखि सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा आयोजित महोत्सवको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बाजा बजाउँदै औपचारिकरुपमा सुरुवात गरिन् ।

उद्घाटन गर्दै उनले भनिन्, ‘सन् २००० मा आरोहण गुरुकुल खोल्दाखेरी हामी सबै कलाकारले जागरुक भएर नाटकलाई एउटा गन्तव्यमा पुर्‍याउने सपना देखेका थियौं । त्यो दिन सम्झेर र आजको दिन देखेर अत्यन्त खुसी लागेको छ । अहिलेको रंगमञ्चलाई नयाँ पुस्ताका कलाकारले जसरी धानेर राखेका छन्, त्यो राम्रो भइरहेको छ भनेर गर्वका साथ भन्छु ।’

कुलपति शर्माले विदेशीहरू हिमाल हेर्नमात्र नेपाल आउने नभई यहाँको कला संस्कृति बुझ्न पनि आउने बताइन् । आफू सरकारी पदमै भएपनि यस क्षेत्रमा जति काम हुनुपथ्र्यो हुन नसकेको बताइन् । बजेटकै कारण ती काम गर्न नसकेको उनको भनाइ छ ।

महोत्सवमा स्वागत मन्तव्य राख्दै निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले भने, ‘हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गर्नुभयो । आज हामी हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं । महोत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गरिरहेका छौं ।’

समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चाइना थिएटर एसोसिएसनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेटकी शान्ति सल्लाहकार मालिन फेट्याटलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

चैत १२ गतेसम्म चल्ने महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुँदैछन् । नाटकसँगै कविता, संगीत, नृत्य प्रदर्शनी लगायत कार्यक्रम समावेश छन् । महोत्सवको पहिलो नाटकको रुपमा पशुपति राईद्वारा निर्देशित ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चन हुँदैछ । त्यसपछि २३ कविले कविता प्रस्तुत गर्नेछन् । किरण नेपाली र दीप्सन पुतुवारले ‘फोकट्र्रोनिक्स’ शीर्षकमा सांगीतिक प्रस्तुतिसँगै पहिलो दिनको कार्यक्रम समापन हुनेछ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?