+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

महायज्ञको नाममा दलित परिवारको घर भत्काइयो, माटोसमेत खनेर फालियो

अनिता मरिक (डोम)ले दुखेसो पोखिन्, ‘म र मेरा श्रीमान् काममा थियौं । त्यसैबेला जेसिभी (डोजर) ल्याएर हाम्रो घर भत्काइदिए ।’

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ चैत ७ गते २१:१६
अनिता र दिपकको घर (बाँया) र घर भत्काएर बनाइएको महायज्ञको संरचना ।

७ चैत, जनकपुरधाम । सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको छ । दलित भन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।

यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।

दीपककी श्रीमती अनिता मरिक (डोम)ले महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै आफूहरुको घर भत्काइएको बताइन् ।

‘यज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि फागुन १० गते डोजर लगाएर हाम्रो घर भत्काइदिए,’ उनले भनिन्, ‘त्यतिमात्र होइन, यहाँको दुई फिट माटो समेत खनेर हटाइयो ।’

मधेश सरकारले बनाइदिएको थियो घर

अनिता र दीपकको परिवार आफ्नै जग्गा नभएकाले दुई दशक अघिदेखि त्यहाँको सार्वजनिक जग्गामा बसिरहेको थियो । पाँच वर्षअघि मधेश प्रदेश सरकारले जनता आवास योजना अन्तर्गत उनीहरुका लागि दुईकोठे पक्की घर पनि बनाइदिएको थियो ।

अहिले त्यही पक्की घर भत्काइएपछि डोम परिवार सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको घरमा सर्न बाध्य भएको छ ।

महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ ।

‘एकजना बाबा आउनु भएको छ । उहाँले यहाँ डोमको घर छ, त्यसैले यो ठाउँमा यज्ञ हुँदैन । डोम परिवारलाई यहाँबाट सार्नुपर्छ भनेपछि डोजर लगाएर मेरो घर भत्काइदिनुभयो,’ अनिताले भनिन्, ‘अरू सबैको घर त्यहीँ छ । तर हाम्रो घर मात्र हटाइयो ।’

अनिताले दुखेसो पोखिन्, ‘म र मेरा श्रीमान् काममा थियौं । त्यसैबेला जेसिभी (डोजर) ल्याएर घर भत्काइदिए ।’

चार दिनअघि मात्रै छोरा अर्जुनको विवाह गरेर बुहारी भित्राएको अनिताको परिवार अहिले समस्यामा परेको छ । हतारमा घर भत्काउँदा घरभित्र भएका केही सामान समेत झिक्न नपाएको पीडित परिवारको भनाइ छ ।

प्रदेश सरकारले बनाइदिएको अनिता र दीपकको घर ।

दीपक र अनिताको सात जनाको परिवार छ । परिवारमा १७ वर्षीय छोरा अर्जुन, नवविवाहिता बुहारी, १३ वर्षीया छोरी किरण कुमारी, १० वर्षीया छोरी प्रीति, र ७ वर्षीय छोरा आकाश मरिक छन् ।

विद्यालयको जग्गामा एकान्तमा सर्नुपरेकाले बिजुली, खानेपानी लगायत आधारभूत सुविधाको समस्या भएको उनले बताइन् । नयाँ ठाउँमा बिजुली छैन । गर्मी बढेकाले सर्पको डर छ । अन्धकारमा त्रासदीपूर्ण रात बिताउनु डोम परिवारको नियति बनेको छ ।

अनितालाई त झन् विद्यालयको जग्गाबाट पनि लखेटिनुपर्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ । ‘यहाँ बस भनियो, झुप्रो बनायौं । तर यो स्कुलको जग्गा हो । कुनदिन यो पनि भत्काएर निकाल्छन् ठेगान छैन,’ अनिताले भनिन् ।

दीपक मरिक गाउँपालिका कार्यालयमा स्वीपरको काम गर्छन् भने अनिता स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । त्यसैले गाउँपालिका अध्यक्ष शिवजी यादवले घर भत्काउनुपर्छ भन्दा पनि मान्न बाध्य भएको उनीहरु बताउँछन् ।

‘यहाँको घर भत्काउँछौं, तिमीहरु पर गएर बस भनेपछि मान्नैपर्‍यो,’ अनिताले भनिन्, ‘पालिका अध्यक्षको कुरा नमाने जागिर जान्छ ।’

डोम परिवार भएकै कारण आफ्नो घर भत्काएर अन्यत्र सारेकोमा अनिताका छोरा अर्जुन मरिक आक्रोशित छन् । ‘के हामी मान्छे होइनौं ? हाम्रो घर त्यहाँ हुँदा यज्ञ गर्न कसरी अप्ठ्यारो पर्थ्यो ? अरू जातिको घर भत्काइएन, तर डोम भएकै कारण हाम्रो घरमाथि डोजर चलाइयो । हामीलाई अछूत भनेर त्यहाँको माटोसमेत खनेर फालियो,’ अर्जुन भन्छन् ।

सहमतिमै घर भत्काएर अन्यत्र सारियो : गाउँपालिका अध्यक्ष

पालिका अध्यक्ष शिवजी यादव भने सहमतिमै घर भत्काएर अन्यत्र सारिएको दाबी गर्छन् । ‘दीपक मरिकको सहमतिमै उनको घर भत्काएर अन्यत्र सारिएको छ । त्यहाँ कल (पानीको धारो) र बिजुलीको व्यवस्थापन गर्ने तयारीमा छौं ।’

उनले दलित भएका कारण उनीहरुलाई त्यहाँबाट नहटाइएको जिकिर गरे । सो क्षेत्रमा कृषि हाट बजार चलाउन संघ सरकारको ३ करोड बजेटमा टेण्डर लागेको र सो क्षेत्रको बीचमा दिपकको घर पर्ने भएकाले हटाउनु परेको उनको भनाइ छ ।

‘त्यो ठाउँको बीचमा दिपकको घर मात्रै पर्थ्यो । त्यहाँ कृषि बजारको सडक निर्माण गर्नुछ । बाउण्ड्री वाल लगाउनु छ । यो कुरा धेरै पहिलादेखि चलेको थियो’ पालिका अध्यक्ष यादवले भने, ‘त्यसैले दिपकको परिवारलाई त्यहाँबाट सार्नुपर्‍यो ।’

उनले स्थानीय विद्यालयलाई क्याम्पसमा स्तरोन्नती गर्न र विकास निर्माणका अन्य काम गर्न यज्ञ लगाउन लागिएको समेत बताए ।

स्थानीय समेत रहेकी राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवान भने डोम भएकै कारण दिपकको परिवारको घर भत्काएर अन्यत्र सारिएको बताउँछिन् ।

‘त्यहाँ केही दास र तत्माहरुको घर छ । अरु कसैको घर नभत्काएर डोम परिवारकै घर भत्काउनुको कारण के हो ?’ उनले भनिन्, ‘अछूत भनेर डोम परिवारको घर भत्काउनेहरुलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।’

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?