+
+
Shares
मिस वर्ल्ड २०२५ :

‘मिस वर्ल्ड २०२५’ बारे तेलंगाना सरकार र प्रतिपक्षबीचको विवाद के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १७:०४

दिल्ली । ‘मिस वर्ल्ड २०२५’ भारतको तेलंगाना राज्यस्थित हैदराबादमा आयोजना हुँदैछ । प्रतियोगिताको ७२ औं संस्करण मे ७ देखि ३१ सम्म चल्नेछ । यस सौन्दर्य प्रतियोगितामा १२० भन्दा बढी देशका प्रतियोगी सहभागी हुनेछन् । प्रतियोगिता आयोजना गर्ने तेलंगाना सरकारको निर्णयलाई लिएर विवाद छेडिएको छ ।

तेलंगानाको प्रमुख दल भारत राष्ट्र समिति (बीआरएस)का कार्यकारी अध्यक्ष केटी रामा रावले आयोजनाको लागत करिब २०० करोड भारु हुनसक्ने अनुमान गरेका छन् । बीआरएसले कांग्रेस सरकारलाई अनावश्यक खर्च गरेको आरोप लगाएको छ । राज्य आर्थिक संकटबाट गुज्रिरहेको उक्त दलको आरोप छ ।

सरकारी कर्मचारीलाई तलब दिन समस्या भएको र यस्तो अवस्थामा कांग्रेस सरकारको निर्णयले राज्यलाई समस्यामा पार्ने बीआरएस दलको आरोप छ । तेलंगाना सरकारका पर्यटनमन्त्री जुपल्ली कृष्ण रावले मार्च २० मा हैदरावादमा कार्यक्रमसँग सम्बन्धित प्रि-लञ्च प्रेस सम्मेलनमा विपक्षी आरोपहरूको जवाफ दिए ।

उनले मिस वल्र्ड संगठनसँगको सम्झौताअनुसार प्रतियोगितामा ५४ करोड भारु खर्च हुने बताए । यो खर्च तेलंगाना सरकार र मिस वर्ल्ड लिमिटेडबीच आधा बाँडिने उनले जनाए । ‘सरकारले आफ्नो सेयरको अधिकांश रकम २७ करोड प्रायोजनबाट उठाउनेछ । यस्ता प्रयास भइरहेका छन्’ उनले भने ।

तेलंगाना सरकार सचिव स्मिता सभरवाललाई यस विवादमा केही भारतीय संचारमाध्यमले प्रश्न गरेका छन्- मिस वर्ल्डजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता तेलंगानामा हुन लागेको छ । यसबाट राज्यलाई के फाइदा हुन्छ ?’

स्मिताको जवाफ छ- ‘हाम्रो चाहना छ कि यस प्लेटफर्ममार्फत तेलंगानाको संस्कृति र यसको वास्तविक पहिचान देशमा मात्र नभई विदेशमा पनि पुगोस् । मानिसले हाम्रा धार्मिक स्थलहरू, यहाँको प्राकृतिक सौन्दर्य र हैदराबादका आकर्षणहरू हेर्नुपर्छ । पर्यटनको तर्फबाट यो महिनाभरि सबैलाई भ्रमणमा लैजाने हाम्रो प्रयास रहनेछ । तपाईं सबैलाई तेलंगानामा स्वागत छ भन्न चाहन्छु । हामी यस प्लेटफर्म मार्फत सबैलाई आमन्त्रित गर्दैछौं ।’

‘यस प्लाटफर्मको माध्यमबाट विश्वले प्रतियोगी र मिडियामार्फत तेलंगानाको बारेमा थाहा पाउनेछ । यसमा कुनै गलत समय छ जस्तो मलाई लाग्दैन । म भन्छु कि समय यो भन्दा राम्रो हुन सक्दैन । तेलंगाना बनेको १० वर्ष भइसक्यो । अब समय आएको छ जब हामी सम्पूर्ण विश्वलाई हाम्रो विकासको कथा बताउन सक्षम हुनेछौं’ आरोपबारे स्मिताले भनिन् ।

मिस वल्र्ड क्रिस्टिना पिज्कोभा भन्छिन्, ‘मिस वर्ल्डको कुरा गर्ने हो भने यसमा सहभागी १२० युवतीमध्ये धेरैले व्यावसायिक उपलब्धि हासिल गरेका छन् । तीमध्ये धेरै केटीहरू डाक्टर र इन्जिनियरहरू छन् । उनीहरुबाट भावी पुस्ताले प्रेरणा पाउनेछन् । यहाँ हामी यसलाई गंगा-जमुना संस्कृति भन्छौं । हैदरावादमा मिस वर्ल्ड हुनु हाम्रो लागि अचम्मको कुरा होइन । तर यस बहानामा हामी संसारलाई बताउनेछौं कि यो एक ठाउँ हो जुन तपाईंले हेर्नुपर्छ ।’

७२ औं मिस वर्ल्डको लागि तेलंगानालाई किन चुनियो ? मिस वर्ल्ड प्रमुख जुलिया मोर्लेको जवाफ छ :

‘सबैभन्दा पहिले, म तपाईंलाई बताउन चाहन्छु कि तिनीहरूले हामीलाई छानेका छन् । यो हाम्रा लागि सम्मानको कुरा हो । म विश्वस्त छु किनभने मलाई थाहा छ कि यात्रा गर्ने मानिसहरूको लागि यसले कति अर्थ राख्छ । तेलंगाना अचम्मको ठाउँ हो । यहाँ धेरै छ जसले मानिसहरूलाई मद्दत गर्न सक्छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?