
८ चैत, काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) बढ्दो प्रयोग हुँदा पनि पेट्रोलियम खपत घट्न नसकेको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) सम्मको तथ्यांक अनुसार गत वर्ष फागुनसम्मको तुलनामा सबैजसो पेट्रोलियम पदार्थ आयात बढेको छ ।
पछिल्ला आर्थिक वर्ष सरकारले ईभीलाई कर छुटका माध्यमबाट आयातमा सहज बनाइरहेको छ । तर, त्यसले डिजेल तथा पेट्रोल खपत भने अझै घटाउन सकेको छैन ।
उता, खाना पकाउने एलपी ग्यास आयात समेत बढिरहेको छ । विद्युतीय चुलोले समेत ग्यास आयात कम गर्न नसकेको देखिन्छ । यस वर्ष फागुनसम्म कुल ८ लाख ७१ हजार ३ सय ९९ किलोलिटर डिजेल आयात भएको छ । यसका लागि ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ बराबर रकम विदेशिएको छ । सरकारले डिजेलबाट मात्र ३४ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आव फागुनसम्म डिजेल आयात ८ लाख ४३ हजार १ सय ७० किलोलिटर बराबर भएको थियो । यो वर्ष डिजेल आयात लागत ८८ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ थियो । जसबाट राज्यले ३४ अर्ब २४ करोड रुपैयाँ राजस्व उठाएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको कमीले धेरै परिमाणमा डिजेल आए पनि लागत कम भएको देखिन्छ ।
उता, गत वर्ष फागुनसम्म पेट्रोल ४ लाख ५० हजार ५१ किलोलिटर आयात भएको थियो । यस वर्ष फागुनसम्मको आयात ४ लाख ८९ हजार ८ सय ४२ किलोलिटर पुगेको छ । यस वर्ष पेट्रोल आयातमा कुल ४२ अर्ब ८० करोड १७ लाख रुपैयाँ विदेशिएको छ ।
पेट्रोलबाट मात्र राज्यले २७ अर्ब ८१ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । गत वर्ष फागुनसम्म ४४ अर्ब ६३ करोड रुपैयाँ बराबरको पेट्रोल आयात हुँदा २५ अर्ब ७३ करोड ९० लाख राजस्व उठेको थियो ।
खाना पकाउने ग्यास गत वर्ष फागुनसम्म ३४ करोड ७२ लाख ३८ हजार ९ सय २२ किलो आयात भएको थियो । यस वर्ष आयात ३६ करोड २० लाख ९५ हजार ७२ किलो पुगिसकेको छ । यसपालि ग्यास आयातमा ४१ अर्ब रुपैयाँ विदेशिएको छ । यसबाट राज्यले ७ अर्ब ६४ करोड रुपैयाँ राजस्व उठाएको छ ।
गत वर्ष यसै अवधिमा खाना पकाउने ग्यासका लागि ३५ अर्ब ८७ करोड रुपैयाँ विदेशिएको थियो । राज्यले ६ अर्ब ६९ करोड रुपैयाँ राजस्व उठाएको थियो ।
त्यस्तै हवाई इन्धन (एटीएफ) आयात यस वर्ष ८ महिनामा १ लाख ३९ हजार १ सय ५३ किलोलिटर बराबर भएको थियो । गत वर्ष यसै अवधिमा १ लाख २७ हजार ४ सय ७८ किलोलिटर मात्र एटीएफ आयात भएको थियो ।
गत वर्ष मट्टीतेल आयात ७ हजार १ सय १२ किलोलिटर भएकोमा यस वर्ष ८ हजार २ सय ८४ किलोलिटर बराबर भएको छ ।
प्रतिक्रिया 4