
९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा पुगेको बताएका छन् ।
शनिबार मधेश प्रदेशको जनकपुरमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देशको अर्थतन्त्र एकदम नाजुक अवस्थामा रहेको बताउँदै उनले राज्यले उठाउने राजस्वले नेता तथा कर्मचारीलाई तलबभत्ता खुवाउन नपुग्दा वैदेशिक ऋण लिनुपर्ने दुःखद् अवस्था रहेको जिकिर गरे ।
‘देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा छ । र हामी हाम्रो समयकै खराब अवस्थामा छौँ । अहिले देशको राजश्वले अथवा देशले जति पैसा उठाउँछ राजस्व त्यसले नेताहरुलाई कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पुग्दैन,’ लिङ्देनले भने ।
संघीयता कार्यान्वयन हुनुअघि ६ खर्ब १५ अर्ब ऋण भएकोमा एक दशकमा ऋण बढेर २६ खर्ब ७६ अर्ब पुगेको उनले बताए ।
‘कर्मचारी र नेतालाई तलब भत्ता खुवाउनका लागि हरेक महिना राज्य ऋण लिनुपर्ने अवस्था छ । भनेपछि सरकारले देशको अर्थतन्त्र जतिसुकै राम्रो छ भने पनि देशको अवस्था के छ भन्ने कुरा यही कुराले बताउँछ,’ लिङ्देनले प्रश्न गरे, ‘जब हाम्रो आम्दानीले देशको साधारण खर्च पुग्दैन भने देशको अवस्था ठिक छ ? यो संघीयता कार्यान्वयन हुनु भन्दा अगाडि अर्थात यो संविधान जारी हुनुभन्दा अगाडि देशको ऋण ६ खर्बमा थियो । आर्थिक वर्ष २०७२/७३ मा हाम्रो ऋण राष्ट्रिय ऋण ६ खर्ब १५ अर्ब थियो, अहिले यहाँ पुग्दा हाम्रो राष्ट्रिय ऋण २६ खर्ब ७६ अर्ब पुग्यो ।’
प्रतिक्रिया 4