+
+
Shares

‘एफडीआई’ स्वीकृतिमा छलाङ, फागुनमै १७ अर्ब ७९ करोड

फागुन मसान्तसम्म ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १७:३५

१० चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेख्य बढेको छ ।

उद्योग विभागका अनुसार फागुन मसान्तसम्म ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यो गत आव सोही अवधिको दाँजोमा साढे १५ अर्ब रुपैयाँले धेरै हो ।

गत आव फागुन मसान्तसम्म २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको तथ्यांक छ । यस वर्ष अप्रुभल रुटबाट ४१ अर्ब ९० करोड र अटोमेटिक रुटबाट २ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो ।

यस वर्ष फागुनमा मात्र सबैभन्दा धेरै १७ अर्ब ७९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको देखिएको छ । यस महिना ४० उद्योग दर्ता भएको देखिएको छ । योसँगै ८ महिना अवधिमा कुल ४ सय २७ उद्योग दर्ता भएका छन् ।

कुल वैदेशिक लगानी प्रतिबद्धता ५ खर्ब ६४ अर्ब ४० करोड रुपैयाँ बराबर पुगेको छ । अहिलेसम्म कुल ६ हजार ८ सय २५ उद्योग दर्ता भएको समेत विभागको तथयांक छ ।

साना उद्योगमा आकर्षण

यस वर्ष स्वीकृत भएको एफडीआईमध्ये साना उद्योगमा लगानी केन्द्रित देखिन्छ । उद्योग विभागका अनुसार फागुनसम्म ४ सय १५ साना उद्योग दर्ता भएका छन् ।

मझौला उद्योग ८ र ठूला उद्योग ४ वटामात्र दर्ता भएका छन् । फागुनमा दर्ता भएकामध्ये ३९ साना र एउटा मझौला छन् ।

पर्यटन र सूचना प्रविधिमा प्रतिस्पर्धा

नेपालमा एफडीआईको आकर्षण पर्यटन र सूचना–प्रविधिमा अधिक देखिएको छ । उद्योग विभागका अनुसार यस वर्ष स्वीकृत एफडीआईमध्ये पर्यटनमा १ सय ८० उद्योग दर्ता भएका छन् । जुन कुल दर्ता उद्योगको ४२ प्रतिशत हो ।

त्यस्तै सूचना प्रविधिमा १ सय ५४ उद्योग दर्ता भएको देखिन्छ । जुन ३६ प्रतिशत हो । सेवा उद्योग ५४, उत्पादनमूलक ३०, कृषि ७ र ऊर्जा र पूर्वाधारमा एक/एक उद्योग दर्ता भएको देखिएको छ ।

बिजनेस भिसा लिने बढे

यस वर्ष बिजनेस भिसा लिने संख्यामा समेत उल्लेख्य सुधार देखिएको छ । साउनदेखि फागुनसम्म २ हजार ४ सय ७ जनाले बिजनेस भिसा लिएका छन् । अघिल्लो वर्ष सोही अवधिमा १ हजार ६ सय ९२ ले यस्तो भिसा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?