News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन २०८२ मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ, जुन माघसम्मको ४० अर्ब २८ करोडभन्दा निकै कम हो।
- चालु आर्थिक वर्षमा साउन महिनामा सबैभन्दा धेरै २० अर्बभन्दा माथि एफडीआई प्रतिबद्धता प्राप्त भएको थियो, तर २३ र २४ भदौको जेनजी आन्दोलनपछि लगानी घट्न थालेको हो।
- फागुनसम्म कुल ५ सय ५४ कम्पनी दर्ता भएका छन्, जसमा ५ सय ३७ साना उद्योग, ८ मझौला र ८ ठूला उद्योग छन्, र ५५ प्रतिशत कम्पनी सूचना प्रविधिमूलक छन्।
३ चैत, काठमाडौं । फागुन २०८२ मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ह्वात्तै घटेको छ ।
उद्योग विभागका अनुसार फागुनमा ३८ करोड ६० लाख रुपैयाँमात्र एफडीआई प्रतिकद्धता प्राप्त भएको विभागले जनाएको छ । माघसम्म ४० अर्ब २८ करोड रहेको एफडीआई प्रतिबद्धता फागुनसम्म ४० अर्ब ६६ करोडमात्र पुगेको हो ।
चालु आर्थिक वर्ष साउनमा सबैभन्दा धेरै २० अर्बभन्दा माथि एफडीआई प्रतिबद्धता प्राप्त भएको थियो ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि लगानी प्रतिबद्धता घट्न थालेको हो । फागुनमा आइपुग्दा यो न्यूनस्तरमा झरेको हो । गत वर्ष (२०८१) फागुनमा १७ अर्ब ७९ करोड एफडीआई प्रतिबद्धता आएको थियो । सोहीकारण फागुनसम्म कुल ४४ अर्ब ६६ करोड लगानी स्वीकृत भएको थियो ।
यस वर्ष फागुनसम्म कुल ५ सय ५४ कम्पनी दर्ता भएका छन् । जसमध्ये अटोमेटिक रुटबाट ३ सय ७७ र अप्रुभल रुटबाट १ सय ७७ कम्पनी दर्ता भएको उद्योग विभागले जनाएको छ । फागुनमा मात्र ३० कम्पनी दर्ता भएका छन् ।
साना उद्योगको बाहुल्य
यस वर्ष साना उद्योगको बाहुल्य अधिक छ । उद्योग विभागका अनुसार साना उद्योग ५ सय ३७ दर्ता भएका छन् । मझौला प्रकृतिका उद्योग ८ र ठूला उद्योग ८ वटा दर्ता भएका छन् । फागुनमा दर्ता भएका ३० उद्योग साना हुन् ।
धेरै कम्पनी आईटी सम्बन्धी
दर्ता भएका कम्पनीमध्ये धेरैजसो सूचना प्रविधिमूलक (आईटी) उद्योगसँग सम्बन्धित छन् । यस्ता कम्पनी कुल ३ सय ७ दर्ता भएका छन् । जुन कुल दर्ता भएका उद्योगको तुलनामा ५५ प्रतिशत हो ।
त्यस्तै पर्यटनमूलक उद्योग १ सय ५५ (२८ प्रतिशत) दर्ता भएका छन् । उत्पादनमूलक उद्योग ३७, कृषिमा १४ उद्योग दर्ता भएको तथ्यांक छ ।
प्रतिक्रिया 4