 
																			१५ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ ।
आयोगले एक विज्ञप्ति जारी गरी प्रहरीको घेरा तोडी प्रदर्शनकारीहरु बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको टिप्पणी गरेको हो ।
शुक्रबार राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै आमसभाको कार्यक्रम थियो । आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर अनुगमन गरेको थियो । अनुगमनको क्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनकारीले तीनकुनेमा सञ्चारमाध्यम, कलेज तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण हुनुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गरेको भेटिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
अनुगमन गर्न हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि समेत प्रदर्शनकारीहरुबाट आक्रमण भएको जनाएको छ ।
प्रहरीले व्यक्तिको निजी आवास प्रयोग गरेर अश्रुग्यास प्रहार गरेको देखिएको भन्दै आयोगले भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा र हवाई फायर गरेको पाइएको जनाएको छ ।
‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’
आयोगले आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरुलाई शान्तिपूर्ण बनाउन, अधिकारको प्रयोग गर्दा अरुप्रति पर्नजाने असरमा संवेदनशील हुन पनि आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4