
काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय विपश्यन रनवे फेसन शो गरिएको छ । काभ्रेको धुलिखेल विश्वविद्यालयको परिसरमा आयोजित शोमा नेपालसहित विदेशी सौन्दर्य प्रतियोगिताका विजेताले रनवेमा क्याटवाक गरे ।
मिस ग्लोब २०२३ आन्भी खेयरा, मिस्टर सुप्रान्यासनल २०१८ प्रथमेश मौलिंगकर, मिस सुप्रान्यासनल मलेसिया २०२२ मेलिसा लिन र मिस सुप्रान्यासनल म्यानमार २०२४ म्योले रनवेमा फेसन प्रस्तुति दिए ।
नेपालबाट मिस सुप्रान्यासनल सजिना खनाल, मिस्टर सुप्रान्यासनल धीरजकाजी बस्नेत, मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस्टर टुरिजम नेपाल मिलन भट्टराई, मिस इन्टरकन्टिनेन्टल आयुषनोभा ढुंगाना, मिस्टर इन्टरनेशनल क्षितिज श्रेष्ठ देखिए ।
पहिलो सिजनको लागि विपश्यनले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गरेको थियो । फेस्टिभल अध्यक्ष दीपक गौतमले विभिन्न विधामध्ये मनोरञ्जन क्षेत्रलाई समेटेर विश्वमा सन्देश दिन रनवे गरिएको बताए ।
‘विपश्यन : शान्तिको लागि रनवे’ नारा रहेको रनवेमार्फत जलवायु परिवर्तनसम्बन्धी वकालत र जनचेतना फैलाउनु लक्ष्य रहेको सञ्चालक उपाध्यायले जानकारी दिए ।
‘यो रनवे नभएर एक सन्देश पनि हो, जुन शिक्षाको माध्यमबाट सुरू गरिनुपर्छ भनेर हामीले पहिलो संस्करण कलेजबाट सुरू गरेका हौं’ उनले भने, ‘यो रनवे प्रकृति र मानवबीचको संगम हो । यसका आगामी सिजन प्रकृतिको काखमा विभिन्न स्थलमा गरिनेछ ।’
उनले आगामी संस्करणमा विश्वका चर्चित अनुहारलाई ल्याइने जनाए । ‘जसको माध्यमबाट जलवायु परिवर्तन, पर्यटकीय स्थलको प्रवर्धन र विश्वमै जलवायु परिवर्तनलाई न्युनिकरण गर्न सकिन्छ भन्ने हो,’ उनले भने ।
प्रतिक्रिया 4