 
																			२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको बैंककस्थित ओरियन्टल होटलमा भएको भेटवार्ताबाट भारतीय समकक्षी नरेन्द्र मोदी खुसी रहेको जानकारी आफूले पाएको बताएका छन् ।
शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर फर्किएलगत्तै विमानस्थलमा आयोजित सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले यसअघि सेप्टेम्बरमा अमेरिकाको लोट्टे न्युयोर्क प्यालेसमा भएको भेटवार्तामा पनि कुनै नराम्रो कुराकानी नभएको र यसपटक अझै बढी कुराकानी भएको बताए ।
‘धेरै लामो होइन, अस्ति सेप्टेम्बरमा हाम्रो कुरा भएको थियो । सेप्टेम्बरमा तपाईंहरूले भनेजस्तो कुनै नराम्रो भएको पनि होइन । केही पनि होइन । नराम्रो केलाई भन्ने ? हामीले कुराकानी गर्यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसपल्ट त्यो भन्दा बढी कुराकानी, अझ बढी पारस्परिक सहयोगका विभिन्न क्षेत्रको सन्दर्भमा, हाम्रा लगानीका क्षेत्रहरू, व्यापारका क्षेत्रहरूको सन्दर्भमा, पन्चेश्वर लगायतका विषय, दोधरा चाँदनीमा महाकालीबाट सिंचाई गर्ने लगायतका थुप्रै कुरा भए ।’
दुईपक्षीय, पारस्पारिक हितका विषयमा मोदीसँग व्यापक कुराकानी भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले थ पभनेका छन्, ‘ हामीले एउटा अठोट गरेका छौं, नेपाल भारत सम्बन्धलाई अझ व्यापक विस्तृत सुदृढ गर्दै लाने । कुनै सानातिना छिमेका कहिलेकाहीँ सम्बन्ध बिग्रन पनि सक्छन् । त्यस्तो भइहालेमा एक आपसमा संवाद गरिहाल्ने र टुंग्याउने भन्ने कुरा हामीले समझदारी गरेका छौं ।’
उनले मोदीसँगको भेटवार्ता फदायी भएको र आफू खुसी भएको जिकिर गरे ।
‘यो भेटघाटबाट म फलदायी भेटघाट भयो र खुसी छु । उहाँको कुराकानीबाट उहाँ पनि खुुसी हुनुहुन्छ भन्ने मैले पाएको छु,’ प्रधानमन्त्री ओलीले भने ।
अब हुन्छ भारत भ्रमण ?
मोदीसँगको भेटवार्ताबाट खुसी देखिएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमै सञ्चारकर्मीले ‘भारत भ्रमण अब सम्भव होला ?’ भनेर प्रश्न गरेका थिए ।
उनले यसलाई असम्भव कुरा पहिला पनि नभएको र अहिले पनि नभएको बताए ।
‘सम्भव असम्भव पनि होला र ? भारत भ्रमण असम्भव कुरा थियो र ? कतिपय कारणले नभ्याएको स्थिति थियो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले बाहिर भनेजस्तो भारतको भ्रमणकै विषयमा धेरै सोच्न नपर्ने बताउँदै प्रतिप्रश्न गरे ।
‘कहिले के काम परेको हुन्छ, कहिले के त्यही भएर मात्रै हो । बाहिर भनेजस्तो भारत भ्रमणमा कसैले काँडेतार लगाएको छ र ? त्यस्तो हुँदै होइन । त्यसलाई ठिकै ढंगले बुझ्दा हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
लगत्तै ओलीलाई सगरमाथा संवादअघि नै भारतको भ्रमण हुन्छ ? भन्दै अर्को प्रश्न तेर्सियो ।
जवाफमा उनले भनेका छन्, ‘सगरमाथा संवाद लगायतका विषयले अलि व्यस्त नै छौं । हामीले भ्याउँछौं भन्यो भने हुन पनि सक्छ ।’
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4