
२६ चैत, काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका केसरजंग बराललाई राजीनामा फिर्ता गरेर काममा फर्किन रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले आग्रह गरेका छन् ।
१० दिनअघि राजीनामा दिएका बराललाई रेक्टर केसी र रजिस्ट्रार रिजालले पोखरा नै पुगेर राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।
‘रेक्टर र रजिस्ट्रार सर बराल सरको राजीनामा फिर्ता गराउन पोखरा नै जानु भएको हो,’ त्रिविका एक अधिकारीले भने ।
रेक्टर र रजिस्ट्रारले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसँग छलफल गर्न बराललाई आग्रह पनि गरेका छन् ।
बराललाई काममा फर्किने वातावरण बनाउँदा शिक्षामन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरेका छन् ।
राजीनामा दिएका बरालले पनि रेक्टर र रजिस्ट्रारले काममा फर्किने प्रस्ताव गरेको स्वीकार गरे । ‘उहाँहरू आउनु भएको हो । थप कुरा पछि गरौंला,’ बरालले भने ।
रेक्टर केसी पनि आफूहरू मिलेर काम गर्न चाहेको बताउँछन् ।
‘उहाँ (केसरजंग) सरको नेतृत्वमा हामी आएका हौं । विश्वविद्यालयमा समस्या आइरहन्छ । मिलेर काम गरौं भन्ने छ,’ केसीले भने ।
तर बरालले गाडी, पीएसओ, ल्यापटप फिर्ता गरेर पोखरा गएका छन् ।
राजीनामा दिइसकेकाले उपकुलपतिमा बराललाई फर्काउने वा राजीनामा स्वीकृत गर्ने भन्ने निर्णय प्रधानमन्त्री एवं कुलपति ओलीले गर्ने छन् ।
स्रोतका अनुसार आज साँझसम्म प्रधानमन्त्री ओलीले निर्णय लिने बताइएको छ ।
गत १० फागुन २०८० मा तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
१३ महिनामा नै उनले राजीनामा दिएका हुन् । बरालले राजीनामा दिनुको कारण स्वास्थ्यलाई देखाएका छन् ।
त्रिविका प्राध्यापकहरू करार शिक्षक कर्मचारीलाई स्थायी र आंशिकलाई करार बनाएर बनाउन दबाब आएपछि राजीनामा दिएको बताउँछन् । बरालले कुलपतिको निर्णयपछि मात्र आफू बोल्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया 4