 
																						२६ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै सरकारलाई शिक्षकहरूको पेशागत हकहित र अधिकार सुनिश्चित गर्न विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेको छ।
पार्टीका प्रवक्ता कृष्ण शर्माले मंगलबार जारी प्रेस विज्ञप्तिमा आन्दोलनका कारण ३५ हजार सरकारी विद्यालय, ४ लाख शिक्षक र ७० लाख विद्यार्थी प्रभावित भएको उल्लेख गर्दै यसले समग्र शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकार शिक्षकहरूको मागप्रति उदासिन हुनु विडम्बनापूर्ण छ भने दलहरू सरकारमा हुँदा चुप लाग्ने तर प्रतिपक्षमा पुगेर मात्रै आन्दोलनलाई उचाल्ने कार्य गैरजिम्मेवारीपूर्ण हो।’
संविधानले शिक्षालाई मौलिक हकको रूपमा व्याख्या गरे पनि संघीय ढाँचाअनुसार आवश्यक कानुनी तथा नीतिगत संरचना अझै तयार हुन नसकेको नेसपा (नयाँ शक्ति) भनाइ छ। पार्टीले विगतमा नेपाल सरकार र शिक्षक महासंघबीच भएका ५ र ६ बुँदे सहमतिअनुरूप तर्जुमा गरिएको विधेयकलाई तत्काल संसदबाट पारित गर्नुपर्ने मागसमेत गरेको छ।
नेसपाले सरकारलाई शिक्षा ऐन ल्याउँदा शिक्षामा समान अवसर, गुणस्तर र निःशुल्क पहुँच सुनिश्चित गर्ने, दुई तहको वर्गीय शिक्षाको अन्त्य गर्ने, शिक्षामा दलिय हस्तक्षेप निषेध गर्ने र शिक्षालाई रोजगारी तथा उत्पादनसित जोड्ने दिशामा काम गर्न आग्रह गरेको छ।
‘शिक्षालाई व्यापारिक वस्तु बनाउन हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा आम नागरिकको पहुँचमा पुग्ने गरी गुणस्तरीय र पूर्ण निःशुल्क हुनुपर्छ।’
पार्टीले आन्दोलनरत शिक्षकहरूका मागलाई राज्यकै विषय भएको भन्दै अविलम्ब समाधान गर्न सरकारसँग जोडदार माग गरेको छ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4