हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पङ्क्ति सौन्दर्यको एक महत्वपूर्ण हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ । दाँत राम्रो, बलियो, स्वस्थ छ भने कुनै पनि खानेकुरा राम्ररी चपाउन सकिन्छ । खाना राम्रोसँग चपाएर खाँदा सजिलै पच्ने र खानामा रहेको पोषकतत्व शरीर सहजै पाउँछ ।
दाँत सफा र स्वस्थ राख्न दैनिक ब्रस गर्नु आवश्यक छ, र यसका लागि फ्लोराइडयुक्त टुथपेस्टको प्रयोग सुझाव दिइन्छ । तर, फ्लोराइड के हो ? यसले दाँतमा कसरी काम गर्छ ? कुन टुथपेस्टमा फ्लोराइड हुन्छ र यसलाई कसरी चिन्ने ?
फ्लोराइड के हो ?
फ्लोराइड एक प्राकृतिक खनिज हो, जो पृथ्वीको सतहमा विभिन्न चट्टान र माटोमा पाइन्छ । यो फ्लोरिन तत्त्वको एक रूप हो र पानी, माटो, बोटबिरुवा र केही खाद्य पदार्थमा पनि थोरै मात्रामा पाइन्छ । दन्त चिकित्साको क्षेत्रमा फ्लोराइडलाई दाँतको सुरक्षाका लागि अत्यन्त प्रभावकारी मानिन्छ । यो रसायनिक रूपमा सोडियम फ्लोराइड, स्ट्यान्स फ्लोराइड वा मोनोफ्लोरोफस्फेट जस्ता यौगिकहरूको रूपमा टुथपेस्टमा प्रयोग गरिन्छ ।
फ्लोराइडको प्रयोग दाँतको क्षय राेक्न, खाेबिल्टाे (क्याभिटी) बन्न रोक्न र दाँतको इनामेललाई बलियो बनाउनका लागि गरिन्छ । यो एक यस्तो तत्त्व हो, जसले दाँतको सतहलाई ब्याक्टेरिया र अम्लको आक्रमणबाट जोगाउँछ। विश्व स्वास्थ्य सङ्गठन र दन्त चिकित्सकहरूले फ्लोराइडको प्रयोगलाई दाँतको स्वास्थ्यका लागि सुरक्षित र प्रभावकारी मानेका छन् ।
फ्लोराइडले दाँतमा के काम गर्छ ?
फ्लोराइडले दाँतको संरचनालाई बलियो बनाउन र क्षयबाट जोगाउन विभिन्न तरिकाले काम गर्छ ।
यसका मुख्य कार्यहरू
इनामेललाई बलियो बनाउँछ
दाँतको बाहिरी सतहलाई इनामेल भनिन्छ, जुन क्याल्सियम र फोस्फेटबाट बनेको हुन्छ । फ्लोराइडले इनामेलमा रहेका खनिजहरूसँग मिलेर फ्लोरोअपाटाइट नामक बलियो संरचना बनाउँछ । यो संरचनाले दाँतलाई अम्ल र ब्याक्टेरियाको प्रभावबाट बचाउँछ ।
रेमिनेरलाइजेसन प्रक्रिया
जब हामी खाना खान्छौँ, मुखमा रहेका ब्याक्टेरियाले चिनी तथा स्टार्चबाट अम्ल उत्पादन गर्छन्, जसले इनामेलबाट खनिजहरू खियाउँछ । फ्लोराइडले दाँतमा उक्त खनिजकाे परिपूर्ति (रेमिनेरलाइजेसन) गर्न मद्दत गर्छ, जसले दाँतको क्षय हुनबाट रोक्छ ।
ब्याक्टेरियाको प्रभाव कम गर्छ
फ्लोराइडले मुखमा रहेका हानिकारक ब्याक्टेरियाको वृद्धि र अम्ल उत्पादन गर्ने क्षमतालाई कम गर्छ । यसले दाँतको सतहमा प्लाक र क्याभिटी बन्ने सम्भावनालाई घटाउँछ ।
सुरुवाती क्षय रोक्छ
यदि दाँतमा सानो क्षति सुरु भएको छ भने, फ्लोराइडले त्यसलाई ठिक गर्न सक्छ र ठुलो क्याभिटी (खाेबिल्टाे) बन्नबाट रोक्छ । यी कार्यहरूका कारण फ्लोराइडयुक्त टुथपेस्टले दाँतलाई लामो समयसम्म स्वस्थ र बलियो राख्न मद्दत गर्छ । विशेष गरी बालबालिका र किशोर किशोरीहरूमा, जब दाँतको विकास भइरहेको हुन्छ, फ्लोराइडको प्रयोग अझ प्रभावकारी हुन्छ ।
फ्लोराइडयुक्त टुथपेस्ट कसरी चिन्ने ?
बजारमा पाइने सबै ब्रान्डका टुथपेस्टमा फ्लोराइड समावेश भएको दावी गरिन्छ । टुथपेस्टमा फ्लोराइड छ, छैन भनेर चिन्ने थाहा पाउन निम्न कुरामा ध्यान दिनुपर्छ ।
प्याकेजिङ पढ्ने : टुथपेस्टको प्याकेटमा फ्लोराइड लेखिएको हुन्छ । साथै, सामग्री सूचीमा ‘सोडियम फ्लोराइड’, ‘स्ट्यान्स फ्लोराइड’, वा ‘सोडियम मोनोफ्लोरोफोस्फेट’ उल्लेख भएको हुन्छ ।
फ्लोराइडको मात्रा : टुथपेस्टमा फ्लोराइडको मात्रा सामान्यतया पीपीएम ‘भाग प्रति मिलियन’ मा दिइन्छ । वयस्कहरूका लागि १०००–१५०० पीपीएम र बालबालिकाका लागि ५००–१,००० पीपीएम उपयुक्त मानिन्छ ।
दन्त चिकित्सकको सिफारिस : यदि प्याकेटमा ‘दन्त चिकित्सक सिफारिस गरिएको’ वा ‘क्याभिटी प्राेटेक्सन’ जस्ता शब्दहरू छन् भने, प्राय : त्यसमा फ्लोराइड हुन्छ ।
लोगो वा प्रमाणीकरण : केही टुथपेस्टमा एडिए (अमेरिकन डेन्टल एसोसिएसन)को लोगो हुन्छ, जसले फ्लोराइडको प्रभावकारिता प्रमाणित गर्छ ।
फ्लोराइड नभएका टुथपेस्टहरू प्राय फ्लोराइड फ्रि वा प्राकृतिक भनी बिक्री गरिएको छ भने त्यसमा फ्लोराइड हुँदैन । त्यसैले यस्तो कुरा ध्यानमा राख्नुपर्छ ।
फ्लोराइडको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी
फ्लोराइड प्रभावकारी भए पनि यसको अत्याधिक प्रयोग हानिकारक हुनसक्छ । धेरै फ्लोराइडले दाँतमा फ्लोरोसिस निम्त्याउन सक्छ, जसमा दाँतमा सेता वा खैरा धब्बा देखिन्छ। यो विशेष गरी बालबालिकामा बढी हुन्छ, किनभने उनीहरूले टुथपेस्ट निल्न सक्छन् । त्यसैले ६ वर्षमुनिका बालबालिकालाई मटरको दाना जत्रो टुथपेस्ट प्रयोग गर्न दिनुपर्छ ।
टुथपेस्ट निल्नबाट जोगाउनुपर्छ । दैनिक दुई पटक ब्रस गर्न सुझाव दिइन्छ, तर आवश्यकताभन्दा बढी प्रयोग गर्नुहुँदैन । फ्लोराइड दाँतको स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले इनामेललाई बलियो बनाउँछ, क्षय रोक्छ र दाँतलाई ब्याक्टेरियाको प्रभावबाट जोगाउँछ ।
प्रतिक्रिया 4