+

तल्लो पेट दुखिरहने र महिनावारी गडबड हुने समस्या के हो ?

२०८१ चैत  २७ गते ९:२५ २०८१ चैत २७ गते ९:२५

महिनावारीको समयमा रक्तस्राव हुँदा केही मात्रामा त्यहाँ जम्मा हुँदै जान सक्छ । त्यो रगत बाहिर निस्कन नपाएर प्राय: डिम्बाशयमा जम्मा भई सिस्ट रुपमा बढ्न थाल्छ । यो सँगै दुखाइ पनि बढ्न थाल्छ ।

तल्लो पेट दुखिरहने र महिनावारी गडबड हुने समस्या के हो ?

प्रसूति तथा स्त्री रोगको ओपीडीमा अधिकांश महिला महिनावारीका बेलामा हुने तल्लो पेट दुखाइको समस्या लिएर आउने डा. कुमकुम झा बताउँछिन् ।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. झा थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत छिन् । महिनावारीका बेला सहन सकिने खालको दुखाइ हुनु सामान्य भए पनि सहनै नसकिने दुखाइ छ भने कतै ‘एन्डोमेट्रोसियस’ त होइन ? भन्ने शंका गर्नुपर्ने उनको भनाइ छ ।

यो समस्याको समयमै उपचार नभए  बाँझोपनको पनि समस्या हुनसक्ने डा. झाले बताइन्।

‘एन्डोमेट्रोसियस’ कस्तो स्वास्थ्य समस्या हो ? यसले गर्दा किन महिनावारीमा समस्या हुन्छ ? यो कतिको साझा समस्या हो ? उपचार कतिको सम्भव छ ? यी विषयमा डा. कुमकुम झासँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको  कुराकानीको सम्पादित अंश :

‘एन्डोमेट्रोसियस’ कस्तो समस्या हो ?

पाठेघरका तीन तहमध्ये भित्रीलाई ‘एन्डोमेट्रियम’ भनिन्छ । एन्डोमेट्रियमले महिनावारी हुँदा रक्तस्रावमा भूमिका खेल्छ । तर यसैको तन्तु असामान्य रुपमा पाठेघरको बाहिर रहन गयो, बढ्न थाल्यो भने यसलाई एन्डोमेट्रियोसिस भनिन्छ ।

महिलाको पाठेघरको बाहिर विशेषगरी डिम्बाशयमा एन्डोमेट्रियमको तन्तु रहन सक्छ । महिनावारीको समयमा रक्तस्राव हुँदा केही मात्रामा त्यहाँ जम्मा हुँदै जान सक्छ ।त्यो रगत बाहिर निस्कन नपाएर प्राय: डिम्बाशयमा जम्मा भई सिस्ट (तरल पदार्थ भरिएको फोकाको) रुपमा बढ्न थाल्छ । यो सँगै दुखाइ पनि बढ्न थाल्छ ।

यो समस्यालाई चिकित्सकहरूले ‘चकलेट सिस्ट’ पनि भन्ने गर्छन् । किनकी, उक्त सिस्टमा हुने तरल पदार्थ रगत र पानीको मिश्रण हुन्छ । जुन गाढा खैरो रंगको हुन्छ, त्यो हेर्दा देख्दा पग्लिएको चकलेट जस्तो देखिन्छ ।

यो समस्या किन हुन्छ ? को बढी जोखिममा पर्छन् ?

यो समस्या किन हुन्छ भन्ने अहिलेसम्म स्पष्ट कारण फेला परेको छैन । तर चिकित्सा विज्ञानले यसका सम्भावित कारणहरू औँलाएको छ । यदि परिवारमा आमा, दिदी, हजुरआमालाई एन्डोमेट्रियोसिस भएको छ भने, यो हुने सम्भावना बढी हुन्छ।

अर्को कारण भनेको कमजोर वा असामान्य प्रतिरक्षा प्रणालीले शरीरमा गलत ठाउँमा बढेको तन्तुलाई नष्ट गर्न नसक्दा यो समस्या हुन सक्छ । इस्ट्रोजन हर्मोनको उच्च स्तरले एन्डोमेट्रियल तन्तुको असामान्य वृद्धिलाई प्रोत्साहन गर्नसक्छ ।

केही अध्ययनले रसायन जस्तै डाइअक्सिन वा प्रदूषणको सम्पर्कमा आउँदा यो समस्या बढ्न सक्ने संकेत गरेका छन्।सिजेरियन वा अन्य पेटको शल्यक्रियापछि एन्डोमेट्रियल कोषहरू गलत ठाउँमा सर्न सक्छन् । साथै, कोषहरूको असामान्य परिवर्तनले पनि यो हुन सक्छ ।

एन्डोमेट्रियोसिस भएमा गर्भधारणमा समस्या हुन्छ ?

एन्डोमेट्रियोसिसपछि गर्भधारणमा समस्या हुन्छ । किनकी, यो अवस्थामा डिम्बाशयमा गएर रगत जमेर बसिदिन्छ । जसले गर्दा महिनामा एकपटक निस्कनु पर्ने सामान्य अण्डा निस्कन पाउँदैन ।

जसले गर्दा निषेचन हुन नपाउँदा गर्भ रहने सम्भावना कम हुन्छ । कतिपय अवस्थामा त निःसन्तानपनको जोखिम नै बढ्ने गर्छ । डिम्बाशय महिलाको प्रजनन प्रणालीको एक महत्त्वपूर्ण अंग हो, जसले डिम्ब भण्डारण गर्ने, महिनावारी भएपछि एकपटकमा एउटा डिम्ब निस्काशन गर्ने ‘इस्ट्रोजन’ तथा ‘प्रोजेस्टेरोन’ जस्ता हर्मोनहरू पनि बनाउँछ ।

त्यस्तै, एन्डोमेट्रियमले नै गर्भ रहेपछि सुरुको चरणमा भ्रुण बन्न सुरक्षा दिन्छ । जब एन्डोमेट्रियमका केही अंश गर्भाशयको बाहिर फैलिएर एन्डोमेट्रियोसिस बन्छ, तब यो समस्या बन्न सक्छ।

यो समस्याले २५ देखि ४० वर्ष उमेरका महिलालाई सताउन सक्छ । कसैलाई किशोरावस्थामा पनि सताउन सक्छ ।रजनोवृत्तिपछि भने केही राहत मिल्न सक्छ ।

यो कत्तिको साझा समस्या ?

यो समस्या लिएर अस्पताल आउने संख्या पहिलाको भन्दा बढ्दै गएको देखिन्छ । यसको कारण भनेको अहिले आधुनिक जीवनशैलीले महिनावारीको समय ११ ÷१२ वर्षमै सुरुवात हुनथाल्यो ।

अनि अहिले करियरलाई प्राथमिकता दिने, विवाह ढिला गर्ने संख्या बढिरहेको छ । जसले सन्तानको योजना पनि ढिला हुन्छ । फलस्वरुप, लामो समयसम्म लगातार सधैं महिनावारी हुँदा हर्मोन एक्सपोजर बढी हुन्छ । जसले गर्दा यस्तो समस्या देखिने संख्या पनि बढ्दो देखिन्छ ।

यो समस्या भनेको महिनावारी नसुक्ने बेलासम्म मात्र सताउने समस्या हो ।

महिनावारीमा हुने दुखाईलाई खासै मतलब गरिँदैन । यो सामान्य हो भनेर सहेरै बस्ने चलन हुन्छ । यस्तोमा एन्डोमेट्रियोसिस नै हुनसक्छ भनेर कसरी अनुमान कसरी गर्ने ?

यस्तोमा यो समस्याको शंका गर्ने केही लक्षणहरू छन् ।

जस्तो कि,
– महिनावारीको समयमा औषधिले पनि नछुने असह्य हुने गरी पेट दुख्नु,
–  आराम गर्दा पनि पेट दुखाइ कम नहुनु,
–  कम्मर वरपरको मांसपेशीको दुखाइ हुनु,
–  यौन सम्पर्क गर्दा तल्लो पेट अत्याधिक दुख्ने र पीडादायी हुनु
–  दैनिकीमै प्रभाव पारेर काम गर्न नसक्नु,
–  अनियमित महिनावारी
–  गर्भधारणमा समस्या
–  अत्याधिक स्राव
– महिवारीको अवधि सकिएपछि दुखाइ कम हुँदै जानु

यद्यपि, यी लक्षण व्यक्ति अनुसार केही फरक हुनसक्छ । तर, महिनावारी भएपछि सधैँ समस्या भइरहन्छ भने चिकित्सकलाई एकपटक भेट्नु उचित हुन्छ ।

एन्डोमेट्रियोसिस भएका महिलालाई सम्भोग गर्दा किन पीडा हुन्छ ?

एन्डोमेट्रियोसिसले पेटको तल्लो भाग, गर्भाशय, डिम्बाशय वा त्यस वरपरको क्षेत्रमा अनावश्यक मासु बढाउँछ, र यौन सम्पर्कका बेला त्यहाँ दबाब पर्न गई दुखाइ बढ्छ । पेटको भित्री भाग र स्नायुहरूलाई संवेदनशील हुने र त्यस वरपरको भाग सुन्निन सक्ने हुँदा यौनक्रियाका क्रममा त्यसले असजिलो वा पीडा दिन्छ ।

कहिलेकाहीँ यो समस्याले अंगहरू एक-अर्कासँग टाँसिन्छन् । र, यौन सम्पर्कको गतिविधिले त्यस्ता टाँसिएका भागमा दबाब ल्याएर दुखाउँछ । गहिरो दबाब पर्दा पेटको प्रभावित ठाउँमा असर गर्छ, जसले दुखाइको अनुभव गराउँछ।

बारम्बार दुखाइको अनुभवले यौन सम्पर्कप्रति डर वा तनाव पैदा गर्छ, जसले मांसपेशीहरू कस्सिन्छन् र थप गाह्रो हुनसक्छ ।यस्तो समस्या भइरहेको छ भने पनि एकपटक एन्डोमेट्रियोसिस त होइन भनेर शंका गर्नुपर्छ।

एन्डोमेट्रियोसिस भएको शंका लागेमा के-कस्ता परीक्षण गराउनुपर्छ ?

लक्षणबाट अनुमान लगाइसकेपछि यसको पुष्ठि गर्न गरिने मुख्य परीक्षण भनेको अल्ट्रासाउण्ड हो । अल्ट्रासाउण्डबाट डिम्बाशयमा सिस्ट भए नभएको पत्ता लाग्छ । सानोतिनो सिस्ट भएमा अल्ट्रासाउण्डबाट पनि देख्न सकिँदैन । यस्तोमा ल्याप्रोस्कोपीबाट एन्डोमेट्रियोसिस भए-नभएको शतप्रतिशत पत्ता लाग्छ ।

के यो समस्याको उपचार सम्भव छ ?

यो समस्याको उपचार सम्भव छ । उपचारमा एन्डोमेट्रियोसिसको प्रभाव घटाउन सकिन्छ । अहिले अर्को उपचार विधि आएको छ । जसले गर्दा लक्षण कम हुन्छ । कपर ‘टी’ जस्तो साधनमा लेभोनोरजेस्टेरल हर्मोन हालिएको हुन्छ । बच्चाको योजना छैन भने यो उपकरण पाठेघरमा हाल्न सकिन्छ । जसले लेभोनोरजेस्टेरल हर्मोन उत्पादन गरी महिनावारीको समस्या कम गर्छ।

यसले गर्भनिरोधकको काम पनि गर्छ । सो उपकरण एकपटक हालेपछि ५ वर्षसम्मका लागि काम गर्छ । बच्चाको योजना छ भने यसलाई राख्न मिल्दैन । बच्चा भइसकेको वा चाँडै बच्चा पाउने योजना नभए एन्डोमेट्रियोसिस भएका महिलाहरूका लागि यो उपकरण उपयुक्त विकल्प हुनसक्छ ।

एन्डोमेट्रियोसिस भइसकेपछि गर्भधारण गर्नको लागि कतिको सम्भव छ ?

एन्डोमेट्रियोसिस भइसकेपछि गर्भधारण गर्न पक्कै कठिन छ । तर, असम्भव भने छैन । उनीहरूले पहिला प्राकृतिक रुपमा गर्भधारणका लागि प्रयास गर्न सक्छन् । त्यसबाट भएन भने आइभीएफ उपचार गरेर गर्भधारण गर्न सकिन्छ । किनकी, यस्तो समस्यामा सामान्य डिम्ब निस्किएको हुँदैन । जसले प्राकृतिक रुपमा गर्भधारणमा समस्या हुनसक्छ।

एन्डोमेट्रियोसिस भइसकेपछि गर्भधारण भइहालेमा अन्य स्वास्थ्य जोखिम पनि हुनसक्ला नि ?

एन्डोमेट्रियोसिस भइसकेपछि गर्भधारण भइहालेमा अन्य स्वास्थ्य समस्या आउने होइन, बरु पहिला भएको समस्या पनि कम हुँदै जान्छ। किनकी, त्यो बेलामा महिनावारी रोकिन्छ । जसले गर्दा महिनावारी पीडा कम हुन्छ । गर्भमा भइरहेको शिशुमा एन्डोमेट्रियोसिसकै कारणले कुनै समस्या आउँदैन ।

एन्डोमेट्रियोसिस भएमा यसको लक्षण कम गर्न के कुरामा ध्यान दिनु आवश्यक छ ?

यो समस्या भएमा लक्षण कम गर्नका लागि सावधानी तथा केही उपाय अपनाउन सकिन्छ । उदारहणका लागि, यौनजीवन कष्टदायी भइरहेको छ भने पार्टनरसँग खुलेर कुरा गर्ने, कम्मरको व्यायाम गर्ने र चिकित्सकीय परामर्श लिन सकिन्छ ।

चिकित्सकले एन्डोमेट्रियोसिसको उपचार तथा यौनजीवन सहज बनाउने हर्मोनल औषधि दिन सक्छन् । त्यस्तै, महिनावारीको दुखाइलाई ट्रिगर गर्ने अस्वस्थ जीवनशैली पनि हुनसक्ने हुँदा यी कुरामा ध्यान दिनुपर्छ । महिनावारीमा पीडा बढिरहेको छ भने कहिलेकाहीँ पेन किल्लर औषधि पनि खान सकिन्छ ।तर, बारम्बार औषधि खानु पनि स्वास्थ्यका हिसाबले ठिक नहुन सक्छ ।

तस्वीर /भिडियो : आर्यान धिमाल 

महिनावरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय