+
+
Shares

कामसूत्रमा दाम्पत्य सम्बन्धबारे के लेखिएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १२:५९

‘कामसूत्र’ भन्नसाथ धेरैले यसलाई यौनको ग्रन्थ भनी व्याख्या गरेको पाइन्छ । जबकि कामसूत्रमा यौनको प्रसंग केवल एउटा अध्यायमा मात्र समेटिएको छ । बाँकीमा जीवन पद्धति र खासगरी दाम्पत्य सम्बन्धको बारेमा उल्लेख छ ।

दाम्पत्य जीवनलाई प्रेम, विश्वास र आत्मीयताले भरिएको बनाउन सकियो भने त्यो सम्बन्ध सुखद र परिपूर्ण हुन्छ । लगभग दुई हजार वर्षअघि आचार्य वात्स्यायनले रचेको ग्रन्थ ‘कामसूत्र’ले यही कुरा सिकाउँछ ।

लेखक वात्स्यायनले प्रेम, कर्तव्य र समृद्धिको सन्तुलनमा जोड दिँदै पति-पत्नीबीचको भावनात्मक र शारीरिक आत्मीयतालाई महत्व दिएका छन् ।हजारौं वर्ष विते पनि कामसूत्रमा उल्लेखित सुझाव अहिलेका दम्पतीको लागि पनि सान्दर्भिक छन् ।

यो ग्रन्थले पति–पत्नीबीचको भावनात्मक र शारीरिक आत्मीयता, एकअर्काको कर्तव्य र जिम्मेवारी र सम्बन्धमा मर्यादा र सौन्दर्यको महत्त्वलाई जोड दिई दाम्पत्य जीवनलाई सुखी, सन्तुलित, र प्रेमपूर्ण बनाउन मार्गदर्शन दिन्छ ।

कामसूत्रमा दाम्पत्य सम्बन्ध बारे के छ ?

१. दाम्पत्य सम्बन्धमा प्रेम र विश्वास आवश्यक

दाम्पत्य सम्बन्धको बलियो आधार प्रेम र विश्वास हो, कामसूत्रमा यही लेखिएको छ ।कामसूत्र अनुसार दम्पतिको सम्बन्ध सफल हुन पारस्परिक सम्मान प्रेम, र विश्वास हुनुपर्छ। एकअर्कालाई बुझ्ने र एकअर्काको भावनालाई सम्मान गर्नुपर्छ ।

वात्सायनले श्रीमानलाई श्रीमतीको इच्छा र भावनालाई बुझेर उनको सुखमा ध्यान दिन सुझाव दिएका छन् । त्यस्तै, श्रीमतीलाई पनि श्रीमानको सम्मान र समर्थन गर्न सिकाइएको छ।

दाम्पत्य जीवनमा विश्वासको कमीले सम्बन्धमा चिसोपन आउने कुरा उल्लेख गरिएको छ ।

२. पति–पत्नीबीचको संवाद र समझदारी

कामसूत्रमा दम्पतीबीच आपसी संवाद अत्यन्त जरुरी रहेको उल्लेख छ । वात्सायनले लेखेका छन्, ‘दाम्पत्य सम्बन्धमा कुनै पनि कुरा लुकाउनु हुँदैन । दम्पतीले आफ्ना इच्छा, अपेक्षा र समस्याहरू खुलेर कुरा गर्नुपर्छ ।

जति कुराकानी कम हुन्छ । त्यति एकअर्कबीच दुरी बन्न जान्छ । दूरीले असम्झदारी सिर्जना गर्छ ।फलस्वरुप, सम्बन्धमा दरार आउँछ । संवादले दाम्पत्य जीवनमा आउन सक्ने शंकाउपशंका कम हुने कुरा उल्लेख छ।

वात्सायनले पतिलाई पत्नीको मनोभाव बुझ्न र उनको रुचिअनुसार व्यवहार गर्न सुझाव दिएका छन् । उदाहरणका लागि, यदि पत्नी कुनै कुराबाट दु:खी छिन् भने पतिले उनलाई सान्त्वना दिनुपर्छ।

३. यौन सम्बन्धमा दुवैको सहमति र रुचिलाई प्राथमिकता

कामसूत्रको सबैभन्दा चर्चित र रुचाइएको पक्ष यौन सम्बन्धसँग सम्बन्धित छ । तर यसले यौनलाई केवल शारीरिक सुखको साधन मात्र नभई दाम्पत्य सम्बन्धको गहिरो हिस्साको रूपमा हेरेको छ ।

वात्सायनले यौन सम्बन्धमा दम्पती दुवैको सहमति र रुचिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।श्रीमानले श्रीमतीको शारीरिक र भावनात्मक तयारी बुझ्न पुस्तकले सुझाव दिइएको छ । जबरजस्ती वा एकपक्षीय यौन सम्बन्धले सम्बन्धमा चिसोपन उत्पन्न हुने कुरा उल्लेख छ ।

कामसूत्रमा ६४ यौन आसनहरूको वर्णन छ । तर यी आसनहरूको उद्देश्य शारीरिक सुख मात्र नभई दम्पतीबीचको आत्मीयता र प्रेम बढाउनु पनि हो ।यौन सम्बन्धमा सन्तुलन र मर्यादा राख्नुपर्ने कुरामा जोड दिइएको छ ।

४. पत्नीको सम्मान र स्वतन्त्रताको ख्याल राख्ने

कामसूत्रमा पतिलाई पत्नीको रुचि र इच्छालाई प्राथमिकता दिन सुझाव दिएका छन् । जस्तो की, पत्नीलाई आफ्नो रुचिअनुसार सृंगार गर्न, साथीहरूसँग समय बिताउन र घरको व्यवस्थापनमा स्वतन्त्रता दिनुपर्छ।

पत्नीलाई सधैं नियन्त्रणमा राख्ने वा उनको स्वतन्त्रता खोस्ने व्यवहारले सम्बन्धमा तनाव उत्पन्न हुने कुरा उल्लेख छ ।पतिलाई पत्नीको सौन्दर्य, बुद्धि, र गुणको प्रशंसा गर्न सिकाइएको छ, जसले उनको आत्मविश्वास र सम्बन्धमा प्रेम बढ्छ ।

५. दाम्पत्य जीवनलाई पट्यारलाग्दो होइन, रमाइलो र मिठास बनाउने

कामसूत्रमा दाम्पत्य जीवनलाई रमाइलो र सुखद बनाउन विभिन्न उपायहरू सुझाइएको छ ।वात्सायनले पति–पत्नीलेसँगै समय बिताउनुपर्ने र एक-अर्कालाई खुसी राख्ने प्रयास गर्नुपर्ने बताएका छन् । जस्तो कि, बगैंचामा घुम्ने, सङ्गीत सुन्ने, नृत्य गर्ने र रमाइला कुराकानी गर्ने गर्न सुझाव दिइएको छ ।

वात्सायनले पत्नीलाई उपहार दिने, उनको सौन्दर्यको प्रशंसा गर्ने र उनलाई हँसाउने प्रयास गर्न पतिलाई सुझाव दिएका छन् ।यस्ता गतिविधिहरूले दाम्पत्य सम्बन्धमा प्रेम र आत्मीयता बढ्छ भनिएको छ।

६. पति–पत्नीको कर्तव्य र जिम्मेवारी बाँडफाड आवश्यक

कामसूत्रमा सम्बन्ध दिगो र सुखी हुन पति–पत्नी दुवैको कर्तव्य र जिम्मेवारीबारे पनि चर्चा गरिएको छ। वात्सायनले दाम्पत्य जीवनलाई धर्म, अर्थ र कामको सन्तुलनमा आधारित बनाउनुपर्ने बताएका छन् ।

पतिलाई पत्नीको रक्षा गर्नुपर्ने, उनको आर्थिक र भावनात्मक आवश्यकता पूरा गर्नुपर्ने र उनलाई सम्मानजनक व्यवहार गर्नुपर्ने कर्तव्य तोकिएको छ । पत्नीलाई पतिको समर्थन गर्नुपर्ने, घरको व्यवस्थापनमा ध्यान दिनुपर्ने, र पतिसँग प्रेम र मर्यादापूर्ण व्यवहार गर्नुपर्ने सुझाव दिइएको छ।

७. बाह्य सम्बन्ध र मर्यादाको पालना गर्नुपर्ने

कामसूत्रमा दाम्पत्य सम्बन्धमा मर्यादा र निष्ठाको महत्वलाई पनि जोड दिइएको छ । वात्सायनले पति–पत्नी दुवैलाई बाह्य सम्बन्ध अर्थात् विवाहेत्तर सम्बन्धबाट टाढा रहन सुझाव दिएका छन्।

बाह्य सम्बन्धले दाम्पत्य जीवनमा अविश्वास र तनाव उत्पन्न हुने कुरा उल्लेख छ।पतिलाई अन्य महिलासँग अनावश्यक सम्बन्ध नराख्न र पत्नीलाई पनि पतिप्रति निष्ठावान रहन सुझाव दिइएको छ।

यदि पति–पत्नीबीच कुनै शंका वा आकर्षण बाहिरतिर गएको छ भने त्यसलाई संवाद र समझदारीबाट हल गर्नुपर्ने कुरा उल्लेख छ ।

८. सौन्दर्य र आकर्षणका लागि व्यक्तिगत हेरचाह जरुरी

कामसूत्रमा पति–पत्नीले एकअर्कालाई आकर्षित राख्न सौन्दर्य र व्यक्तिगत हेरचाहमा ध्यान दिनुपर्ने कुरा उल्लेख छ ।वात्सायनले पत्नीलाई सजिन, सुगन्धित तेल र फूल प्रयोग गर्न र आफूलाई आकर्षक बनाउन सुझाव दिएका छन् ।

पतिलाई पनि सफा र आकर्षक रहन, पत्नीको सौन्दर्यको प्रशंसा गर्न र उनलाई खुसी राख्ने प्रयास गर्न सुझाव दिइएको छ ।सौन्दर्य र आकर्षणले दाम्पत्य सम्बन्धमा प्रेम र आत्मीयता कायम राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?