२ वैशाख, काठमाडौं । ६ वर्षअघि सुरु भएको पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक विस्तारको काम अझै जारी छ । साढे तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ अघि बढेको सडक निर्माण अव्यवस्थित र सुस्त रुपमा अघि बढिरहेको छ ।
सडक विस्तारकै क्रममा ठेकेदार चिनियाँ कम्पनीले पूर्वपश्चिम राजमार्गको दाउन्नेखण्डमा पुरानो सडक भत्काउने, माटो खन्ने अनि नाली र पर्खाल लगाउने काम गरिरहेको छ । एकैसाथ लामो खण्डमा काम थाल्ने तर सम्पन्न गर्न हतारो नदेखाउने प्रवृत्तिले दुम्किवास बजारदेखि बर्दघाटसम्मको झण्डै १५ किलोमिटरखण्ड यात्रु र सवारी मजदुरहरूका लागि सास्ती बनेको छ ।
साँघुरो बाटो, अव्यवस्थित र सुस्त गतिको निर्माण अनि भद्रगोल सवारी व्यवस्थापनले सवारीसाधनहरू घण्टौं जाममा फसेका हुन्छन् । १५ किलोमिटरको बाटो छिचोल्न १२/१५ घण्टासम्म लाग्ने गरेको छ ।
सडक विस्तार गर्न खनेको माटोमा मालबाहक सवारीसाधन फँस्दा लामो जाम पर्ने गरेको छ । अति प्रज्वलनशील पेट्रोलियम पदार्थ बोकेका, ग्यास सिलिण्डर बोकेका सवारीसाधनहरू खाल्डाखुल्डी भएको कच्ची बाटोमा असन्तुलित भएर ओहोरदोहोर गरिरहेका छन् । घण्टौंदेखि साइरन बजाइरहेका एम्बुलेम्स र शववाहन गाडीले समेत बाटो पाउन नसक्ने अवस्था छ । यति लापरवाहीपूर्वक काम गरेका छन् कि उपकरण र तिनका पाटपूर्जा सडकमा असरल्ल छन् ।
निर्माणको काम पनि भइरहने अनि सवारी आवागमन पनि नरोकिने भएपछि सरोकारवालाहरूको बैठकले राती ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकेर निर्माण अघि बढाउने निर्णय गरेको छ ।
लामो समय पानी नपरेकाले धुलाम्मे सडक केही दिनयताको पानीले हिलाम्मे खेतजस्तो बनेको छ । सरोकारवालाले तत्काल समाधानको पहल नगर्ने हो भने अहिलेको प्रि–मनसुन र लगत्तैको वर्षायाममा यो सडक झनै अव्यवस्थित र कष्टकर हुने देखिन्छ ।
प्रतिक्रिया 4