
४ वैशाख, काठमाडौं । मुलुकमा मोबिलिटी सशक्तीकरणका लागि वकालत गर्ने उद्देश्यसहित ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा सुरु भएको छ ।
नाइमामा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताले प्रतिनिधित्व गर्छन् । नाइमाको अध्यक्षमा रितुसिंह वैद्य छिन् । उनले टोयोटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता वैद्यज् अर्गनाइजेसनको प्रतिनिधित्व गर्छिन् ।
नाइमा सुरुवात गर्न आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले संस्थाको भिजन, मिसन र पाँच आधारस्तम्भबारे जानकारी दिइन् ।
‘नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको मोबिलिटी सशक्तीकरणका लागि सामूहिक आवाजको प्रतिनिधित्व मात्र गर्दैन, यसले रणनीति सहकार्यदेखि विकास र वकालतका लागि एकीकृत मञ्चका रूपमा पनि काम गर्ने छ,’ वैद्यले भनिन् ।
प्रगतिशील नीतिमार्फत नेपालको अटोमोटिभ भिजन सक्रिया बनाउने, दिगो नवप्रवर्तन बलियो पार्दै शिक्षा र जागरुकता मार्फत उपभोक्तालाई सशक्त बनाउने, सडक सुरक्षा र पूर्वाधार विकास प्रवद्र्धन गर्ने, अटोमोबाइल उद्योगको विकास र सामाजिक लाभका लागि नाइमाले काम गर्ने वैद्यले जानकारी दिइन् ।
नाइमाले सबैका लागि गतिशीलता समाधान, सुरक्षा र पूर्वाधार अभिवृद्धि, नीति तथा नियामक सम्बन्धी वकालत, मानव पूँजी र उद्योगका उत्कृष्ट अभ्यास र उपभोक्ता सशक्तीकरण र साझा गतिशीलता गरी पाँच आधारस्तम्भ सार्वजनिक गरेको छ ।
अध्यक्ष वैद्यले नाइमा गैरराजनीतिक रूपमा गठबन्धन गरिएको नेपालको पहिलो संघ भएको बताइन् । नाइमाको स्थापना स्वेच्छिक नेतृत्व र सर्वसम्मत सहभागिताका सिद्धान्त र सहमतिमा आधारित निर्णय प्रक्रियालाई बढावा दिने गरी भएको र संस्थामा कहिल्यै पनि चुनाव नहुने उनले बताइन् ।
नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने जनाएको छ ।
वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षा प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारका आवश्यकता सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काम गर्ने नाइमाले जनाएको छ ।
त्यसैगरी नाइमाको उद्देश्य मोबिलिटी मार्फत विकास सशक्त बनाउने रहेको छ । यसले रणनीतिक नीतिगत वकालतबाट नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइने नाइमाले उल्लेख गरेको छ ।
को–को छन् नाइमाको संस्थापक सदस्यमा ?
नाइमाको संस्थापक सदस्यमा सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काब्रा छन् ।
नाइमाले ‘नेपाल मोबिलिटी एक्स्पो’ गर्ने
नाइमाले नेपालकै सबैभन्दा ठूलो अटो शो ‘मोबिलिटी एक्स्पो’ आयोजना गर्ने घोषणा गरेको छ । यो एक्स्पो २१ देखि २५ साउन २०८२ मा काठमाडौं भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटोशो कमिटी सदस्य गौरव शारडाले जानकारी दिए ।
प्रतिक्रिया 4