
सन् २०२५ अप्रिल २८ । यो दिन म कहिल्यै बिर्सन सक्दिनँ । स्पेनको पर्यटकीय सहर बार्सिलोना, दिउँसोको १२:३२ बजेको थियो । म रेस्टुरेन्टमा काममा व्यस्त थिएँ । एक्कासी बत्ती गयो । सुरुमा मलाई सामान्य लाग्यो, सायद कुनै स्थानीय समस्या हो । केही मिनेटमा फर्किएला भन्ने सोचें । तर, बत्ती फर्किएन । त्यसपछि मोबाइल सञ्जाल पनि गुम्न थाल्यो । हामी केही बुझ्न नसकेर अलमलमा पर्यौं ।
बत्ती गएको केही सेकेन्डमै स्पेनको ऊर्जा प्रणाली युरोपेली ग्रिडबाट छुट्टियो । विद्युत् सेवा प्रदायक ‘रेड इलेक्ट्रिका दे एस्पान्या’का अनुसार, एकैचोटि १५ हजार मेगावाट ऊर्जा उत्पादन बन्द भयो । विकसित देशको रुपमा चिनिने स्पेन दिउँसै अँध्यारोमा डुब्यो । यो सामान्य प्रविधिगत गडबडी थिएन । देशको ६० प्रतिशतभन्दा बढी विद्युत् आपूर्ति ठप्प भयो- म्याड्रिडदेखि गालिसिया, बार्सिलोनादेखि अन्डालुसियासम्म।
त्यो दिन आँधी आएन, न ठूलो मानवीय गल्ती भयो । तर, प्रणाली ढल्यो । डिजिटल पूर्वाधारमा पूर्ण निर्भर मुलुक स्तब्ध बन्यो । मोबाइल सञ्जाल, इन्टरनेट, बैंकका एटिएम, पसलका कार्ड मेसिन, ट्राफिक बत्ती, मेट्रो र रेल-सबै प्रणाली बन्द भए ।
पर्यटकहरूसँग नगद थिएन, कार्ड मात्र थियो। हाम्रो रेस्टुरेन्टमा पनि यस्तै भयो । सेवा बीचमै रोकिन सक्दैनथ्यो तर कार्ड मेसिन काम नगरेपछि कतिले पैसा तिर्न नसकी निस्किए, कतिले उधारोमा खाए । मलाई लाग्यो- बत्ती जानु यहाँ सेवा नै जानुजस्तै हो ।
एक विदेशी महिला पर्यटक हात जोड्दै पानी मागिरहेकी थिइन् । मोबाइल चल्दैनथ्यो, होटल फिर्ता जान सक्ने उपाय थिएन । उनले भनिन्, ‘मसँग पैसा छैन, फोन चल्दैन, कृपया पानी दिनुहोस् ।’ त्यो मानवताको क्षण थियो, जुन दृश्यले भित्रसम्म छोयो ।
हामी एक यस्तो युगतिर अघि बढिरहेका छौं, जहाँ ‘कार्ड’ र ‘मोबाइल पे’ नै मुख्य भुक्तानी माध्यम बन्न थालेका छन् । नगद बोक्नु पुरानो शैली जस्तो लाग्न थालिसकेको छ। तर, स्पेनको त्यो ऐतिहासिक ब्ल्याकआउटले याद गरायो- जब बिजुली जान्छ, डिजिटल सेवा पनि जान्छ । अनि बाँकी रहन्छ नगद र मानवता।
स्पेनका प्रमुख सहरहरूमा मेट्रो ठप्प भए । भूमिगत सुरुङमा सयौं मानिसहरू अड्किए, घन्टौं कुर्नुपर्यो । अस्पतालका आकस्मिक सेवा जेनरेटरमा सरे । अनलाइन सेवा बन्द भएपछि एयरबीएनबी बुकिङ गरेका पर्यटकहरू अलपत्र परे । बालबालिका च्यापेर आएका उनीहरू न त ढोका डोरबेल बजाउन सके, न होस्टसँग सम्पर्क गर्न ।
लिफ्ट बन्द हुँदा वृद्ध र बालबालिकासहितको यात्रा दुःखद बन्यो । शहरका अपार्टमेन्टहरू जेलजस्तै बने । दसौं तलासम्म सानो बच्चा वा वृद्ध आमा-बुबालाई बोकेर हिँड्नु कुनै सजिलो काम थिएन । अँध्यारो भर्याङ, पसिनाले चिप्लिने हात, ती सबै दृश्यहरूले हामीलाई फेरि सम्झाए, प्रविधि मात्र होइन, परम्परागत विकल्पहरू पनि कति आवश्यक छन् ।
बालबालिकालाई बिहान झोलामा स्यान्डविच, पानीको बोतल, अनि माया भरिएको चुम्बन दिएर विद्यालयमा छोडेर आमाबाबुहरू दैनिकीझैं कामतर्फ लागे। तर, दिउँसोको आकस्मिक ब्ल्याकआउटले सबै योजना भताभुङ्ग बनाइदियो । मेट्रो चलेन, बस रोकिए, ट्याक्सी सेवा भेट्नै मुश्किल । जनजीवन अस्तव्यस्त भयो।
आफ्ना सन्तानको अनुहार सम्झँदै कामबाट दौडिन खोज्ने आमाबाबुहरू बाटोमै अल्झिए । कोही सुरुङमा अड्किए, कोही बस नपाएर पैदलै हिंड्न थाले। मोबाइल चलेन, इन्टरनेट थिएन-स्कूललाई सन्देश पठाउन सकिएन, फोन गर्न सकिएन। शिक्षकहरू पनि अन्योलमा परे।
सहयोगी बन्यो रेडियो
त्यति बेला लाखौँ मानिस वर्षौंपछि फेरि एफएम रेडियोतर्फ फर्किए । सबै डिजिटल सञ्चार साधन असफल भएपछि, रेडियो एकपटक फेरि आपतकालीन सूचनाको प्रमुख स्रोत बनेर उदायो । म्याड्रिडदेखि ग्रामीण क्षेत्रसम्म, रेडियोले सरकारी निर्देशन, स्थानीय प्रशासन र आपतकालीन सेवाको जानकारी पुर्यायो ।
नेपालमा अहिले कतिपय एफएम रेडियो स्टेसनहरू संकटमा छन् । तर, यो घटनाले देखायो- रेडियो संकटका बेला जीवनरक्षक हुनसक्छ । आधुनिक प्रविधिको दौडमा परम्परागत सञ्चारको मूल्य बुझ्न यो चेतावनीजस्तै हो ।
हामीले देख्यौं- ‘केही सेकेन्डको प्रणालीगत झट्काले कसरी नागरिक जीवन, अर्थतन्त्र, यातायात र स्वास्थ्यलाई प्रभावित पार्छ । यो केवल प्राविधिक दुर्घटना थिएन, यो डिजिटल युगमा हाम्रो संवेदनशीलता र असुरक्षा देखाउने गम्भीर चेतावनी थियो।’
त्यो अँध्यारोमा मैले नेपालका लोडसेडिङका दिनहरू सम्झिएँ जहाँ १२–१४ घण्टा बत्ती जाँदा पनि हामी सहजै बाँचेकै थियौं, काम गर्थ्यौं । मैनबत्ती, रेडियो, इन्भर्टर प्रयोग गर्थ्यौं । तर युरोपमा ? जहाँ सबै कुरा विद्युतीय यन्त्रमा भर पर्छ- बत्ती जानु भनेको जीवन नै ठप्प हुनु हो । के हामी डिजिटल यन्त्रहरूको दास बन्दै गइरहेका छैनौं ?
स्पेनको त्यही ऐतिहासिक ब्ल्याकआउटसँग सँगै, पोर्चुगलमा पनि यस्तै समस्या देखापरेको थियो । पोर्चुगलमा पनि मेट्रो र अन्य यातायात सेवा ठप्प भई, मानिसहरूले घण्टौंको अप्ठ्यारोको सामना गर्नुपर्यो।
छानबिन प्रारम्भ
यस घटनाको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धान साइबर आक्रमणको आशंकासहित अघि बढेको छ। स्पेनको केन्द्रीय आपराधिक अदालत ‘अउदिएन्सिया नासियोनाल’ले न्यायाधीश खोसे लुइस कालामाको नेतृत्वमा गम्भीर छानबिन प्रारम्भ गरिसकेको छ ।
प्रधानमन्त्री पेद्रो सान्चेजले भनेका छन्, ‘हामी कुनै पनि सम्भावना नकार्दैनौँ, तर हडबड नगरौँ । तथ्यलाई बुझ्न दिनुहोस् ।’ सरकारले निजी ऊर्जा कम्पनीको जवाफदेहिता सुनिश्चित गर्दै प्रणाली सुधारको प्रतिबद्धता जनाएको छ । साथै, युरोपेली आयोगसँग स्वतन्त्र अनुसन्धानको मागसमेत गरिएको छ।
अदालतले रेड इलेक्ट्रिका, राष्ट्रिय क्रिप्टोलोजी केन्द्र र गुप्तचर विभागलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । न्यायाधीश कालामाले भनेका छन्, ‘हाम्रो समाजको आधारभूत पूर्वाधारहरू परस्पर निर्भर छन् । सानो गडबडीले व्यापक संकट निम्त्याउन सक्छ।’ उनले २०१७ को साइबर खतरासम्बन्धी प्रतिवेदन र युक्रेनको २०१६ को आक्रमण उदाहरण दिँदै सतर्क रहन आग्रह गरेका छन् ।
मानवताको उज्यालो
त्यो दिन हामीले देख्यौं- ‘केही सेकेन्डको प्रणालीगत झट्काले कसरी नागरिक जीवन, अर्थतन्त्र, यातायात र स्वास्थ्यलाई प्रभावित पार्छ । यो केवल प्राविधिक दुर्घटना थिएन, यो डिजिटल युगमा हाम्रो संवेदनशीलता र असुरक्षा देखाउने गम्भीर चेतावनी थियो ।’
सायद सबैभन्दा गहिरो क्षण त्यो थियो, जब मेरो छोरीले मोबाइल देखाउँदै भनिन्, ‘बुबा, युट्युब चल्दैन !’ म भित्रैसम्म झस्किएँ । उसलाई म यति निर्भर बनाउँदै छु, जसको नियन्त्रण मसँग छैन।
तर, त्यस अँध्यारोमा पनि उज्यालो थियो- मानवताको उज्यालो । पानी माग्ने पर्यटक, निःशुल्क सेवा दिनेहरू, सहयोगी छिमेकी, अस्पताल चलाउने समर्पित कर्मचारी सबैले देखाए, अँध्यारोमा पनि मान्छेको आत्मा उज्यालो रहन्छ।
अब अवस्था सामान्य हुँदै गएको छ । विद्युत् सेवा बहाल भइसकेको छ, सञ्चार सेवा पुनः सुचारु भएका छन् । तर, त्यो दिनले दिएको सन्देश अझै मभित्र गुञ्जिरहेछ।
त्यो दिन, म एक मनोवैज्ञानिक झट्कासँग बाँचें । जब डिजिटल संसार बन्द हुन्छ, त्यति बेला हामी आफूलाई पुनः चिन्छौं । चेतनाको उज्यालो त्यो अँध्यारोमा टल्किएको दिन थियो । बत्ती त गयो, तर त्यो दिन हामी ब्युँझिएको दिन थियो । हामीले थाहा पायौं- प्रविधि असफल भए पनि हाम्रो आन्तरिक शक्ति र आत्मविश्वास नै महत्वपूर्ण हो ।
प्रतिक्रिया 4