+
+
Shares

वरिष्ठ सईको तलब बढाउने आदेश कार्यान्वयनमा विलम्ब, सर्वोच्चको ताकेता

प्रहरी भन्छ- प्रक्रिया अघि बढेको छ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, सर्वोच्चले ताकेता गर्दै पठाएको पत्रबारे जानकारी प्रहरीलाई छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते २१:४५

१८ वैशाख, काठमाडौं । प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरूको तलबमान बढाउनुपर्ने भन्दै सर्वोच्चले गरेको आदेश कार्यान्वयन नभएपछि सर्वोच्चले ताकेता गरेको छ ।

गत ८ वैशाखमा ७ दिनको अल्टिमेटम दिँदै सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले पत्र पठाएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थमन्त्रालयलाई सम्बोधन गर्दै पठाइएको उक्त पत्रको पनि म्याद सकिइसकेको छ । यद्यपि आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको छैन ।

सर्वोच्च न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले १६ साउन २०८१ मा वरिष्ठ सईहरूको तर्फबाट दायर भएका दुई वटा फरक–फरक रिटमा वरिष्ठ सईहरूको पक्षमा आदेश जारी गरेको थियो । जसमा सईको भन्दा कम तलबमान र ग्रेड भएकाले उनीहरूको तलबमान र ग्रेड वृद्धि गर्नुपर्ने आदेश सुनाइएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, सर्वोच्चले ताकेता गर्दै पठाएको पत्रबारे जानकारी प्रहरीलाई छ । यद्यपि अन्य मन्त्रालय पनि यसमा जोडिएकाले कार्यान्वयनको काम नभइसकेको आचार्यले अनलाइनखबरलाई बताए ।

‘त्यो पत्रको जानकारी आएको छ । यो हामीसँग मात्रै जोडिएको विषय होइन,’ डीआईजी आचार्यले भने, ‘तालुक र अन्य मन्त्रालय पनि जोडिएका छन् । हाम्रोतर्फको काम भइरहेकै छ । बाँकी प्रक्रिया अघि बढेको छ ।’

वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरूले १६ पुस २०८० मा र उनीहरूले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टाछुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको थियो ।

जसमा उनीहरूको माग बमोजिम हुने उल्लेख गरिएको थियो ।

सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरू चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेका थिए । यो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मी थिए ।

यही आदेश कार्यान्वयन भएको भन्दै यसलाई उद्धृत गर्दै फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत नुनेत्रहरि पौडेलले हस्ताक्षर गरेको उक्त पत्रमा भनिएको छ, ‘यो आदेश कार्यान्वयन गरी ७ दिनभित्र यसको जानकारी गराउनू ।’

के हो वरिष्ठ सईको मुद्दा ?

प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद सिर्जना गरिएको थियो ।

दुई वर्षअघि २०७० मा मात्रै १ हजार १७१ वरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरू बढुवा भएका थिए ।

तर वरिष्ठको तीन तारे फूली लगाएका उनीहरूले तलब भने सई हुँदा भन्दा कम पाए । सईमा ८ ग्रेडसम्म खाएका उनीहरूले वरिष्ठ सई भए पनि पहिला भन्दा २६२ रुपैयाँ कम तलब पाए । सईमा ८ ग्रेड खाएकाहरूको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ ।

तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरूले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् ।

१ साउन २०७९ बाट लागू भएको तलबमान अनुसार वरिष्ठ सईको सुरु स्केलको तलब ४० हजार ९ सय ९८ रुपैयाँ छ । सईको ३४ हजार ७ सय ३० रुपैयाँ छ । सई दर्जामा रहेकालाई १ हजार ४५६ रुपैयाँका दरले ८ ग्रेडसम्म दिइन्छ ।

जसअनुसार ८ वर्ष सई दर्जामा बिताएकाहरूको तलब ४३ हजार ९ सय ९४ रुपैयाँ हुन्छ ।

तर वरिष्ठ सईमा जम्मा २ ग्रेड दिइन्छ । प्रतिग्रेड १ हजार ३ सय ६७ रुपैयाँका दरले २ ग्रेड थप गर्दा वरिष्ठ सईको तलब ४३ हजार ७ सय ३२ रुपैयाँ मात्रै हुन्छ ।

जसकारण ८ ग्रेड बुझेका सईहरू वरिष्ठ सईमा बढुवा हुँदा तलब भने कम पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?