
१९ वैशाख, काठमाडौं । एक महिने शिक्षक आन्दोलनपछि आजदेखि विद्यालय खुलेका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आजदेखि विद्यालय खुलेका हुन् ।
बिहीबार सार्वजनिक बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना अभियान सुरु गरिएको विद्यालयका काठमाडौंका सरकारी विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् । ‘नयाँ विद्यार्थी भर्नाको लागि आएका छन् । आज मात्र ८० जना नयाँ विद्यार्थी भर्ना भएका छन्,’ पद्मकन्या माध्यामिक विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले भनिन्, ‘आज बुक फ्रि–फ्राइडे हो । विद्यार्थीहरू आएर अतिरिक्त गतिविधिमा सहभागी भएका छन् ।’
पद्मकन्यामा १० कक्षासम्म ५ सय विद्यार्थी अध्ययनरत छन् ।
जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक अनिल झाले पनि विद्यालय सञ्चालन भएको बताए । ‘आजदेखि विद्यालय खुलेको छ । विद्यार्थी भर्नाका लागि आइरहेका छन्,’ झाले भने । उनका अनुसार अघिल्लो वर्ष करिब साढे ४ सय विद्यार्थी थिए ।
ज्ञानोदय माध्यामिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमाल पनि भर्नाका लागि नयाँ विद्यार्थी आइरहेको बताउँछिन् । ‘भर्नाको लागि विद्यार्थी आइरहेका छन्,’ उनले भनिन् । गत वर्ष ज्ञानोदयमा ४ हजार ७ सय विद्यार्थी थिए ।
शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशैभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ । सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित भएको छ ।
१ वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु भएको थियो तर आन्दोलनका कारण १९ दिनपछि मात्र विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।
१७ वैशाखमा सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएपछि शिक्षकहरु काठमाडौंबाट फर्किएका छन् । तर महासंघले सरकारसँग धोकापूर्ण सहमति गरेको भन्दै विद्यालय कर्मचारी परिषद्ले भने नयाँ आन्दोलन घोषणा गरेको छ ।
विद्यालय कर्मचारी परिषद्ले यही वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनबारे जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने जनाएको छ ।
त्यस्तै, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने, जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षण सहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने तथा जेठ १० गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।
प्रतिक्रिया 4