
धरान । फिल्म ‘ऊनको स्वीटर’ले विहीबार साँझ यहाँ भव्य सांगीतिक कार्यक्रम गर्यो । यो प्रवर्धन प्रस्तुतिमा गायक सुजन चापागाईं गुञ्जिए । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको प्रचारप्रसारको लागि कन्सर्ट गरिएको थियो ।
धरान रङ्गशालामा आयोजित कन्सर्टमा ६ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको निर्माताको भनाइ छ । कन्सर्टमा सहभागी हुन् पाँचथरको फिदिमदेखि धरानसम्मको २०० किलोमिटर बाटोमा मोटरसाइकल र्यालीमार्फत दर्शक आए ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा लगायतका जनप्रतिनिधि पनि कन्सर्टमा सहभागी रहे । कलाकार विपिन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बु, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायिका झुमा लिम्बु र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत गरे ।
चापागाईँ र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले ‘लजाएर एक्लै किन’, ‘तिमी बिना तिमी हुनु’, ‘फूलथुङ्गे रानी’, ‘आँसुको भारी’, ‘गाला पुक्क‘, ‘तीनपाते’, ‘मखमली’ लगायतका गीतमा प्रस्तुति दिए । गायिका लिम्बूसँगको ‘काफ्ले’ गीतमा दर्शक झुमे ।
कन्सर्टमा संकलित मुनाफा उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोगस्वरूप हस्तान्तरण गरिने निर्देशक चौहानले बताए । यसअघि पोखरा र काठमाडौंमा पनि कन्सर्ट भैसकेको छ । आर्टमाण्डू प्रालिले निर्माण गरेको यो फिल्मको ट्रेलर सामाजिक सञ्जालमा निकै लोकप्रिय छ ।
प्रतिक्रिया 4