
१९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग शुक्रबार भएको भेटमा डा. चौथाइवालेले भारत नेपालको वर्तमान संविधान र वर्तमान व्यवस्थाको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।
माओवादी उपमहासचिव पुनको सचिवालयले भन्यो, ‘चौथाइवालेसँगको भेट सौहार्दपूर्ण रह्यो । नेपालमा राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन र सम्बन्ध नरहेको उहाँले बताउनुभयो ।’
भेटमा भारतीय जनता पार्टी र माओवादी केन्द्रको बीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने चर्चा पनि भएको थियो ।
‘दुई पार्टीबीचको सम्बन्ध विगतमा पनि राम्रो छ, आगामी दिनमा अझ सुमधुर बनाएर लैजानुपर्छ भन्ने छलफल भएको छ,’ सचिवालयले भन्यो ।
पूर्वअर्थमन्त्री समेत रहेका पुनसँगको भेटमा चौथाइवालेले पहलगाममा हालै भएको आतंकवादी हमलालाई लिएर नेपालका राजनीतिक दलले आतंकवादको विरोध गर्दै भारतको पक्षमा गरेको समर्थनप्रति खुसी व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4