+
+
Shares

साथीहरू बोलेनन् 

व्यक्ति विशेषको स्वार्थ वा हित धेरैतिर जोडिएको हुनाले बोल्न चाहँदैन बोल्न समर्थ पनि हुँदैन। ऊ फाइदा हुन्छ भन्ने निश्चित भएपछि मात्रै बोल्छ, बोलेजस्तो गर्छ, नत्र बोल्दैन ।

युवक उप्रेती  युवक उप्रेती 
२०८२ वैशाख २३ गते ६:५९

सार्वजनिक विद्यालयका शिक्षकहरूको आन्दोलन महिना दिनमा लगभग एउटा निष्कर्षमा पुगेको छ।  महिनादिनको अवधिमा मेरो म्याडम (स्थायी शिक्षक, निमावि तह, कसैले झोले शिक्षक भनिदेलान् कि भनेर यो खोलुवा दिएको हुँ।) करिब १० दिन जति आन्दोलनमा सहभागी हुनुभयो। म चाहिँ  सार्वजनिक शिक्षाका सन्दर्भमा मेरो वृत्तमा रहेका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा राम्रो नाम बनाइसकेका विभिन्न उमेर पेशाका साथीहरूको प्रतिक्रिया के के आयो,  त्यो नियालेर बसेँ। तर उनीहरूबाट केही पनि आएन। त्यसैले म उदास भएँ।

मेरा सबै साथीहरू सार्वजनिक विद्यालयका उत्पादन हुन्। अझ जोड दिएर भन्नुपर्दा उनीहरू आफ्नो विद्यालयका ‘जाज्वल्यमान नक्षत्र’ हुन् तर शिक्षक आन्दोलन यहाँसम्म आइपुग्दा मेरा साथीहरुले नेपालको सार्वजनिक विद्यालय, त्यहाँका शिक्षक ,अभिभावक, विद्यार्थी, शैक्षिक वातावरण ,शैक्षिक क्रियाकलाप, शैक्षिक गुणस्तर ,कार्य वातावरण आदिका बारेमा चूँ सम्म गरेका छैनन्। कम्तिमा साथीहरुले एकचोटि अतीतरमण/ भ्रमण गर्दै केही बोले हुने थियो भन्ने मलाई लागेको हो।

 त्यहाँदेखि यहाँसम्म आइपुग्दा मेरा साथीहरू ‘गाउँ’बाट मुक्त भइसकेका छन्। त्यो मुक्तिले उनीहरूलाई आत्ममुग्ध बनाएछ, निस्पृह बनाएछ, चरम स्वार्थी बनाएछ। मैले मेरा यी ‘सामाजिक न्यायका जोडदार हिमायती’, ‘ ‘ साम्प्रदायिक दङ्गाका विरोधी’ ‘पर्यावरण प्रेमी’ साथीहरुले सार्वजनिक शिक्षाका सन्दर्भमा पूर्ण रुपमा मौनता धारण गरेको देखेपछि मेरो मन गुरुप्रसाद मैनालीका कथाका पात्रको जस्तै’ एक तमास’को हुन पुगेको छ। त्यसैले म देहायका साथीहरुलाई कटाक्ष/ व्यङ्ग्य/ उपहास नगरी बस्न सकिनँ:-

साथी नम्बर १- सम्पादक !

ऊ बोलेन। यतिबेला ऊ आफ्नो सद्य प्रकाशित उपन्यासमा जादु यथार्थवाद लगायत विश्व साहित्यको पछिल्लो चरणमा देखापरेका यावत अधानुतन प्रवृत्तिहरूको औधि कलात्मक प्रयोग छ ।

त्यसैले यो उपन्यास मार्खेजको वन हन्ड्रेड years of solitude को समकक्षी हो, विश्व स्तरका नेपाली उपन्यासको आरम्भ यसै कृतिबाट हुन्छ भन्ने खालका स्तुति लेखाउन, छाप्न र सेयर गर्न मग्न छ उसको स्वभाव कस्तो छ भने ऊ अघिल्लो हप्ता ‘शासकको भ्रष्ट बाहुलीबाट किताबको विमोचन नगराउनु’ भन्ने लेखकसँग बसेर कफी पिउँछ अनि अर्को साता त्यो लेखकलाई दर्शकदिर्घामा राखेर राष्ट्रिय सभाका उपाध्यक्षको हातबाट उपन्यासको विमोचन गराउँछ।

सुझाव दिने त्यो लेखक चाहिँ दर्शकदीर्घामा बसेर खुइय गरिरहेको हुन्छ । तपाईंको जानकारीका लागि बताइदिउँ, यो सम्पादक साथीको भविष्य को लक्ष्य हो, शिक्षामन्त्री बन्ने।

साथी नम्बर २- कवि !

अहिले सपरिवार अमेरिकामा बस्छ। बुवाले चिना हेरेर र आमाले सुनकोशीका किनारमा गिट्टी कुटेर पढाएको कुरा उसले गर्वका साथ आफ्नो आत्मकथामा लेखेको छ। तर पनि ऊ बोल्दैन

अघिल्लो महिना उसले एकजना नाफाखोर साहुजीको यात्रा विवरणको दरो समीक्षा लेख्यो। त्यो किताबलाई उसले नेपाली नियात्राका फाँटमा बेलायततिर बरालिँदा पछिको अर्को बिसाउनी भनेर मूल्याङ्कन गरेको थियो ।त्यसपछि उसले त्यो मैलो ज्याकेट (यही ज्याकेटबारे उसले एउटा भावुक कविता लेखेर ,छापेर रु. १५०० पारिश्रमिक हात पारेको थियो अघिल्लो साल) बन्चरे डाँडातिर मिल्काइसकेको छ।

अब ऊ लिभाइसका जिन्स, टिसर्ट, स्केचरका स्पोर्ट्स सुज धारण गरेर आइफोनबाट फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट्याउन थाल्ने भएको छ। आजकल उसका मनमा अनौठा अनौठा शोखहरुको आविर्भाव हुन थालेको छ।  कुमार नगरकोटीका संस्मरणहरूको पठनबाट अनुप्राणित भएर हो कि खै कसरी हो, उसले अस्ति फेसबुकमा लेख्यो, अमेरिकानो डबल सट पिउन मन लागिरहेको छ।

हिजो चाहिँ उसले एउटा निम्न कोटीको प्रकाशकले नेपालीमा छापेको ‘फ्रायडको मनोविश्लेषण ‘पढ्दै गरेको फोटो फेसबुकमा राखेको थियो। त्यो फोटोमा उसको मुद्रा हेर्दा अनुमान गर्न गाह्रो हुन्न थियो,ऊ सपनामा देखिने वस्तु र तिनको अर्थ भएको पानामा मस्त थियो। यसपछि ऊ एडलर, युङ ,लँका ,कोरेन हार्नी आदि पढ्छ रे ।

अतियथार्थवाद बुझ्न मनोविश्लेषणको आधारभूत ज्ञान नभई हुन्न रे। प्रगतिवादी कविको कायाकल्प राम्रैसँग हुँदैछ। एनसेलले पैसो लगाउने आगामी लिटरेचर फेस्टिबलमा ऊ मोडरेटर वा प्यानलिस्टमध्ये एक बन्ने निश्चित भइसकेको छ रे ।(स्रोत: उसैसँग आज बिहान मेसेन्जरमा भएको भलाकुसारी) अब ऊ किन बोल्थ्यो?!

साथी नम्बर ३- समीक्षक !

ऊ अहिलेबाट होइन २०७१ सालतिरैबाट हो बोल्न छाडेको। प्रौढ साहित्य लेख्ने ह्याउ नभएपछि बन्नुपरेकाले बन्नपुगेको ‘बाल साहित्यकार’को प्रोफाइल लेखेसँगै उसको  धारिलो कलममा खिया लाग्न थालेको हो। कोरोनाको बताससँगै उसको जागिर उडेपछि उसले आफ्नो त्यो कलमलाई कुनै प्रकाशकको अँध्यारो गोदाममा थन्किएका नबिकेका किताबका बोरातिर हुर्याइसकेको छ। अब त ऊ बहुभूमिकामा छ ।

ऊ अरुका किताब लेखिदिने लेखक हो, सम्पादक हो, समीक्षक हो,  विमोचक हो, वक्ता हो,प्रचारक हो। तर धेरैजना उसको यस भूमिकासित परिचित छैनन् किनभने उसको यो भूमिका अर्धभूमिगत छ। तैपनि ऊ बेलाबखत एकछिन आफैंलाई बिर्सेर नेपाली साहित्यलाई रोग लाग्नको कारणहरु बारे अन्तर मन्थन भने गरिरहन्छ।

साथी नम्बर ४- उपन्यासकार !

ऊ उपन्यासकार मात्रै होइन, ऊ मदन पुरस्कार विजेता उपन्यासकार हो। उसले आफ्नो जागिरे जीवनको आरम्भ लियन शिक्षकबाटै गरेको हो। तर बोलेको छैन। ६० वर्ष पुग्नासाथ बुढो भइसकेको छ। अब उसको विचार र शिल्पमा कुनै नविनता छैन। उसको लेखाइमा ल्याङल्याङ नै ज्यादा छ। केही हप्ताअघि फेसबुक लाइभ गरेर श्रीमतीले फेसियल गरिदिएको भिडियो राखेको थियो उसले। त्यो फेसबुक लाइभमा ऊ निकै खिलखिलाएको थियो। तर ममा भने बीभत्स रस उत्पन्न भएको थियो। नेपाल राष्ट्र बैंकको उपप्रबन्धकबाट अवकाश पाइसकेको व्यक्ति हो ऊ।  अहिले सपरिवार अमेरिकामा बस्छ। बुवाले चिना हेरेर र आमाले सुनकोशीका किनारमा गिट्टी कुटेर पढाएको कुरा उसले गर्वका साथ आफ्नो आत्मकथामा लेखेको छ। तर पनि ऊ बोल्दैन।

साथी नम्बर ६- फेरि पनि कवि

ऊ संगीत प्रेमी छ, प्रकृति प्रेमी छ। बसन्त ऋतुको यो मध्ययाममा ऊ राग मेघ मल्हारमा मग्न छ। ऊ बोल्दैन

कवि मात्रै भन्दा उसको व्यक्तित्वमाथि न्याय हुँदैन। उ लेखक पत्रकार र सामाजिक न्यायको कट्टर पक्षधर हो। बोल्दैन भन्ने कुरा त मैले अस्ति नै भनिसकेको छु । तथ्यहरू केलाउँदा उसले आफूलाई सहकारी पीडित, मिटर ब्याज पीडित र उखु किसानमा सीमित गरेको बुझिन्छ। अघिल्लो वर्ष ‘डाँडाले सूर्य छेक्दैन’ कविता संग्रह आएदेखि ऊ एकदमै ” बनेको छ। ऊ सरकारी पत्रकार हो। प्रधानमन्त्रीको अभिनन्दन ग्रन्थको भाषा सम्पादक हो। यो कुरालाई उसले भूमिगत नै राखेको छ। उसको कवितासंग्रह अनेक हतकण्डा, फण्डाका कारण झण्डै सात/ आठ सय प्रति बिकिसक्यो । ऊ जे जसो, जे जत्रो भए पनि उसले आफ्नो प्रकाशकसित आजका मितिसम्म १ रुपैयाँ माग्न सकेको छैन। ऊ पनि बोल्दैन ।

साथी नम्बर ७- फेरि अर्को कवि !

ऊ यसै पनि अल्पभाषी छ। ऊ जतिबेला बोलेको थियो कवि भएर, उसको कविताले ज्ञानेन्द्रलाई  सिंहासनबाट फालेको थियो। बहिष्करण र वञ्चितीकरणमा परेकाहरुले उसकै कविताबाट बोल्न सिकेका थिए। ऊ नाटककार हो, गीतकार हो। र नामुद ट्ँवाके पनि हो। उसका आफ्नै पीडाहरू छन्। आफ्ना गाउँले साथीहरुले व्यवसायमा साझेदार नबनाएपछि ऊ अलि अप्ठ्यारोमा छ। एउटा दलालले सहकारीको आवरणमा पैसा झ्वाम पारिदिएपछि ऊ वास्तवमै समस्यामा छ। तर उसले हार मानेको छैन। ऊ उपन्यास लेख्दैछ ,अलि मोटै खालको । यसको बजारभाउ राम्रो आउँछ रे ,त्यसकारण।

साथी नम्बर ८- प्राध्यापक !

आजकल मलाई यो मान्छे बजारको सबैभन्दा ‘ओभररेटेड ‘लाग्न थालेको छ। जो जो मान्छेबाट मलाई दिक्क लागेको थियो, तिनीहरूमा र यसमा टड्कारो पार्थक्य छ  भन्ने ठान्थेँ म। तर आज यसको संगत मलाई दिक्क लगाउनेहरुसितै भएको देख्दा त्यो विभाजक -रेखा नै मेटिँदै गएको जस्तो लाग्छ। लेखनाथ पौडेलको खै कुन चाहिँ कवितामा हो, एउटा लाइन थियो, सायद ‘तरुण तपसी’मा होला, …पछि हेर्दाहेर्दै तर हृदय हाँस्यो अलिअलि..! ऊ जहाँ पायो त्यहाँ बोल्दैन।

ठूलाठूला तारै होटलमा ब्रेकफास्ट, डिनर, लन्च सहितको कार्यक्रममा मात्रै बोल्ने गर्छ। ऊ जहाँ बोले पनि ‘ शासकलाई प्रश्न गर्नु मानव मात्रको कर्तव्य हो’ भन्छ। त्यही कार्यक्रमको भिडियो हेरेर जोसिएको मेरो एउटा साथीले ठेकेदारलाई बाटो निर्माणमा भएको ढिलासुस्तीबारे जवाफ माग्दा राम्रै गोदाई खाएको थियो। ऊ संगीत प्रेमी छ, प्रकृति प्रेमी छ। बसन्त ऋतुको यो मध्ययाममा ऊ राग मेघ मल्हारमा मग्न छ। ऊ बोल्दैन।

व्यक्तिको सीमा हुन्छ । तीसँग जवाफदेहिता खोज्न सकिँदैन । ती कुनै पनि बहानामा तर्किन, उम्किन सक्छन्। अतः व्यक्तिको पछि लाग्नु ,व्यक्तिबाट कुनै काम कुरा हुन्छ भनेर अपेक्षा  गर्नु सर्वथा बेवकुफी हो। कुनै व्यक्ति विशेषलाई हिरो ठानेर उसलाई फलो गर्नु भाटगिरी तर्फको यात्रा हो। व्यक्ति विशेषको स्वार्थ वा हित धेरैतिर जोडिएको हुनाले बोल्न चाहँदैन बोल्न समर्थ पनि हुँदैन। ऊ फाइदा हुन्छ भन्ने निश्चित भएपछि मात्रै बोल्छ, बोलेजस्तो गर्छ, नत्र बोल्दैन । ऊ फगत सेलेक्टिभ एक्टिभिस्ट हो। त्यसैले हामीले हाम्रा संस्था, संरचना, कार्यप्रणालीलाई नै बलियो बनाउनुको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?