
२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एउटा मात्रै दलको नभएको स्पष्ट पारेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।
यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ घटक नेपाली कांग्रेसको संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा प्रयोग भएका नाराहरूबारे प्रश्न उठेको थियो ।
कांग्रेस सांसद जीवन परियारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा राखेकोप्रति आपत्ति जनाएका थिए । ‘सम्मुनत नेपाल, सम्मानीत नेपाली’ भन्ने कांग्रेसको नारालाई समावेश नगरेकोमा उनको आपत्ति थियो ।
यसबारे सञ्चारकर्मीले राखेको जिज्ञासा मेटाउँदै उपमहासचिव ज्ञवालीले भने, ‘केही केही नेताहरूले यसबारेमा बोल्नुभएको हामीले पनि सुन्यौं । पहिलो कुरा म निवेदन गर्छु, समृद्ध नेपाल सुखी नेपालीको नारा कुनै बेला एउटा दलले अघि सार्यो होला, उसको घोषणापत्रमा आयो होला । तर, अब यो नारा एउटा दलको मात्रै रहेन ।’
पन्ध्रौं र सोह्रौं पञ्चवर्षीय योजनामा हाम्रो दीर्घकालीन सोच र भिजनको रुपमा समृद्ध नेपाल सुखी नेपालीको कुरालाई निरन्तरता दिएको उनले स्पष्ट पारे ।
‘यसलाई अघि बढाउँदा मुख्य मुख्य राजनीतिक दल सरकारमा हुँदा नै यो पञ्चवर्षीय योजना अघि बढेका छन्,’ उनले भने, ‘यसको पञ्चवर्षीय योजनाले दीर्घकालीन सोच भनेर अघि सारेको नारालाई कसैले पनि नेकपा एमालेको मात्रै नारा भनेर बुझ्नु उचित हुँदैन । यो राष्ट्रिय आकांक्षा र सपना हो ।’
प्रतिक्रिया 4