
२४ वैशाख, काभ्रेपलाञ्चोक । ६५ वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको बनेपास्थित शिर मेमोरियल अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ ।
अस्पतालले सञ्चालनमा ल्याएको सिटि स्क्यान सेवाको एक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेले शुभारम्भ गरे । सोही अवसरमा हेमोडायलासिस भवनको शिलान्यास तथा अस्पतालमा स्थापित जेनेरेटर हाउसको समेत शुभारम्भ गरिएको छ ।
अस्पतालका लागि १६० स्लाइसको सिटि स्क्यान मेसिन करिब चार लाख ६० हजार अमेरिकी डलर (नेपाली चार करोड ९८ लाख रुपियाँ) रकम बराबरको सञ्चालनमा आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टोर जी गायेरसले जानकारी दिए । उनका अनुसार सिटि स्क्यान मेसिन, जेनेरेटर, डेकोरेसन लगायत गरेर ७ करोड ५० लाख रुपैया खर्च भएको छ ।
सन् २०२२ मा चार जना रोटरियनले अस्पतालका लागि सिटि स्क्यानको परियोजना अघि बढाउन आग्रह गरेपछि सिटि स्क्यान ल्याउने प्रकृया सुरु गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टोर जी गायेरसले जानकारी दिए । सिटि स्क्यान मेसिन प्राप्त भएसँगै अब अस्पतालबाट थप गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेछ ।
अस्पतालका लागि आवश्यक पर्ने सिटि स्क्यान मेसिन र जेनेरेटरका लागि दि रोटरी फाउण्डेशन, रोटरी क्लब अफ बोनिटाबिच सनसेट, रोटरी क्लब अफ कुपण्डोल र रोटरी क्लब अफ बनेपा काभ्रे, एडभेन्ट हेल्थ लोमा लिन्डा युनिभर्सिटीलगायतले सहयोग गरेका थिए । यी संस्थाको सहयोगमा अस्पतालका लागि पाँच सय किलो भोल्ट क्षमताको जेनेरेटर सहयोग प्राप्त भएको छ ।
यस्तै एडभेन्ट हेल्थ एण्ड जेनेरल कन्फ्रेन्स जर्मन रोटरियन भोलेन्टियर्स डक्टर्सलगायतको नेपाली तीन करोड रुपियाँको सहयोगमा अस्पताल परिसरमा तीन तले हेमोडायलासिस भवन निर्माण सुरु गरिएको छ । उक्त भवनमा दश थान हेमोडायलासिस मेसिन र बिरामीको लागि प्राइभेट कोठा रहनेछन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य वादेले सिटिस्क्यान सेवा सुरु भएसँगै बिरामीको उपचारमा सहजता ल्याउने बताए । उनले निर्माण सुरु भएको हेमोडायलासिस भवन निर्माणपछि समेत विभिन्न रोगका बिरामीहरुको लागि हेमोडायलासिस गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताए ।
कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्य, बनेपा नगरपालिका ५ का वडा अध्यक्ष बलराम अधिकारीले अस्पतालले प्रवाह गरेको सेवाको प्रभावको बारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया 4