+
+
Shares

सांसद राईको कार्यकालमा स्वर्णलक्ष्मी सहकारीको साढे २ करोड अपचलन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद माया राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहँदा करिब २ करोड ४० लाख रुपैयाँको अपचलन भएको खुलासा भएको छ।
  • उनले सहकारीमा गरेको आर्थिक अनियमिततासम्बन्धी मुद्दा दर्ता भएको छ।
  • यस घटनामा उनीसहित २१ जनालाई पुरक अभियोजनमा पुनः मुद्दा दर्ता गरिएको छ।

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।

राई आर्थिक वर्ष २०७३/७४ मा कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिवको जिम्मेवारीमा थिइन् ।

राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३/७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला बिना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो । स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको खुलेको छ । कुल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको छ ।

त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको थियो ।

उनी सञ्चालक समितिमा रहेको अवधिमा सहकारीको २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भएको पाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले बताए ।
सोही अनुसार उनीसहित २१ जनालाई पुरक अभियोजनमा पुनः मुद्दा दर्ता गरिएको छ ।

यो सहकारीका २० जना बचतकर्ताले राईसहितका व्यक्तिविरुद्ध जाहेरी दिएका थिए । २० बचतकर्ताको ३७ लाख ३५ हजार ८४३ रुपैयाँ हिनामिना भएको पाइएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।

यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भएपनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा माइन्युटमा समेत सांसद राईले हस्ताक्षर गरेको भेटेको थियो । बयानका क्रममा समेत सांसद राईले उक्त हस्ताक्षर आफ्नै रहेको स्वीकार गरेकी छिन् ।

हाँडीगाउँमा एकै घरमा डेरा गरी बस्ने भूपेन्द्र राईको आग्रहमा हस्ताक्षर गरेको उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?