+
+
Shares

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : मुद्दा दर्ता नगरिएका ५ जना को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नयाँ पूरक अभियोजनमार्फत थप मुद्दा दायर भएको छ।
  • यस मुद्दामा २० जना बचतकर्ताले ३७ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताइएको छ, तर केही व्यक्तिहरू अझै प्रतिवादी बन्न सकेका छैनन् ।
  • तर, पूरक अभियोजनमा मुद्दा दायर हुँदा पनि पाँच जना व्यक्तिविरुद्ध भने अझै मुद्दा दायर हुन सकेको छैन ।

३० वैशाख, काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मंगलबार पूरक अभियोजनमार्फत अर्को मुद्दा दायर भएको छ । नेपाली कांग्रेसकी समानुपातिकतर्फकी सांसद माया राईसहितका व्यक्तिविरुद्ध पूरक अभियोजनमार्फत काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो ।

यो सहकारीका २० जना बचतकर्ताले राईसहितका व्यक्तिविरुद्ध पूरक जाहेरी दिएका थिए । २० बचतकर्ताको ३७ लाख ३५ हजार ८४३ रुपैयाँ हिनामिना भएको पाइएको छ । सोही अनुसारको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

तर पूरक अभियोजनमा मुद्दा दायर हुँदा पनि पाँच जना व्यक्तिविरुद्ध भने अझै मुद्दा दायर हुन सकेको छैन । मुद्दा दायर नहुनेहरूमा यामकुमार नाल्चो, सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे, मीरा बम्जन र प्रचण्डमान प्रधान छन् ।

अदालतमा दायर भएको अभियोजन पत्रमा भने उनीहरूको हकमा यकिन वतन खुल्न नसकेको बताइएको छ । ‘उनीहरूको हकमा यकिन वतन खुल्न नआएको हुँदा खुली आएका बखत र प्रस्तुत वारदातमा अन्य कोही कसैको संलग्नता खुली आएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम गरिने व्यहोरा अनुरोध छ’ अभियोगपत्रमा उल्लेख छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।

त्यतिबेला भने सांसद राईसहितका व्यक्तिलाई उन्मुक्ति दिइएको थियो । पहिलो पटक मुद्दा दर्ता हुँदा पनि यामकुमार नाल्चो, सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे र मीरा बम्जन उन्मुक्ति पाएका थिए

दोस्रो पटक मुद्दा दर्ता हुँदा उनीहरू चार जनासँगै अर्का व्यक्ति प्रचण्डमान प्रधानले पनि उन्मुक्ति पाएका छन् । सहकारी ठगी प्रकरणमा उनीहरूको संलग्नता खुले पनि उनीहरूको बारेमा पूरा ठेगाना, वतन र तीनपुस्ते नखुलेको भन्दै पूरक अभियोजन दर्ता हुँदा पनि उनीहरू प्रतिवादी बन्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?