
News Summary
Generated by OK AI. Editorially reviewed.- कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण सुरु भएको छ र यसले विश्वव्यापी ध्यान आकर्षित गरेको छ।
- उद्घाटन समारोहमा हलिउड अभिनेता रोबर्ट डी निरोलाई ‘पाम दे ओर’ सम्मान प्रदान गरिएको थियो।
- यस कार्यक्रममा अभिनेता रोबर्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि खनिए, उनले ट्रम्पलाई ‘मुर्ख राष्ट्रपति’को संज्ञा दिए।
काठमाडौं । ‘राजनीतिक रङ पोत्दै’ विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण सुरु भएको छ । नेपाली समयानुसार मंगलबार राती सुरु फेस्टिभलको ओपनिङ समारोह खास रह्यो ।
उद्घाटन समारोहमा हलिउडका पाका अभिनेता रोबर्ट डी निरोलाई मानार्थ ‘पाम दे ओर’ सम्मान प्रदान गरियो । अभिनेता लियोनार्दो डिक्याप्रियोले सम्मान प्रदान गरे । ‘ट्याक्सी ड्राइभर’ले शीर्ष पुरस्कार जितेको ५ दशकपछि नीरोलाई सम्मान दिइयो ।
‘पाम दे ओर’ ग्रहण गर्दै हलिउडका यी दिग्गज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि खनिए । उनले ट्रम्पलाई ‘मुर्ख राष्ट्रपति’को संज्ञा दिए । पहिलो दिनको मुख्य आकर्षण बन्यो- फ्रान्सेली म्युजिकल कमेडी फिल्म ‘पार्टिर अन जर’को रेडकार्पेट उपस्थिती ।
निरोले पाम दे’ओर प्राप्त गर्दा यो फिल्मका कलाकार रातो कार्पेटमा लस्करै पछाडितिर उभिएका थिए ।
विगतमा पाम दे ओर जितेका विजेता क्वेन्टिन टारान्टिनो र शन बेकर, इभा लोङ्गोरिया, जुलिया गार्नर, हेइडी क्लम, र एलेसेन्ड्रा एम्ब्रोसियो जस्ता अभिनेता र मोडेलहरूसँगै फोटोग्राफरको समूहअघि उभिए ।
तर ‘मिसन : इम्पोसिबल– द फाइनल रेकनिङ’को प्रिमियर गर्न शहरमा रहेका टम क्रुज कतै भेटिएनन् । फिल्मको अन्तिम श्रृंखला भनिएको यो फिल्मको विश्व प्रिमियर बुधबार हुँदैछ जहाँ अभिनेता टम क्रूज उपस्थित हुने जनाइएको छ ।
निर्णायक मण्डलकी अध्यक्ष जुलिएट बिनोचेले हल्का गुलाबी रंगको पाइन्टसुट लगाएकी थिइन् जसमा घुम्टो थियो र यसले ‘ड्यून’ ब्रह्माण्डको केही कुरा सम्झना गरायो । उनले आफ्ना सहकर्मी निर्णायक मण्डलहरू –“सक्सेसन“ स्टार जेरेमी स्ट्रङ, अस्कर विजेता अभिनेत्री हेले बेरी र “अल वी इम्याजिन एज लाइट“ निर्देशक पायल कपाडियासँग सिँढीको माथिल्लो भागमा हात समातेर उभिइन् ।
डी निरो कार्पेटमा प्रवेश गर्दा तालीको गडगडाहट भयो । ट्रम्प मात्र होइन, उनका अर्बपति सहयोगी इलन मस्कमाथि पनि फेस्टिभलमा कतिपय अतिथिले कटाक्ष गरे ।
गतसाता ट्रम्पले विदेशी भूमिमा बनेका फिल्मलाई १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै विश्व फिल्ममा अन्योल सुरु भएको छ । यसबाट कान्स पनि प्रभावित नहुने कुरै भएन ।
प्रतिक्रिया 4