+
+
Shares

बालकहरूमाथि पनि हुन्छ यौनहिंसा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वव्यापी रूपमा बालबालिकामाथि हुने यौन हिंसाको तथ्यांकले यसको गम्भीरता देखाएको छ।
  • नेपालमा बालकहरूमाथि हुने यौन हिंसाविरुद्ध जागरूकता र कानूनी कारबाहीलाई प्रवर्द्धन गर्न विभिन्न अभियानहरू सञ्चालन भइरहेको छन्।
  • बालबालिकाको सुरक्षाका लागि सामाजिक मूल्य, चेतना र कानूनी उपायहरू आवश्यक रहेको विशेषज्ञहरूले बताएका छन्।

३१ वैशाख, काठमाडौं । हालसालै ल्यान्सेन्ट जर्नलमा सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा महिला १८.९ प्रतिशत र पुरुष १४.८ प्रतिशत विभिन्न प्रकारका यौन हिंसामा पर्ने गरेको खुलासा गरेको छ । जसमध्ये ७१.९ प्रतिशत पुरुषहरू र ६७.३ प्रतिशत महिलाहरूले १८ वर्ष पुग्नुअगावै यौन हिंसा भोग्ने गरेको बताइएको छ ।

उक्त अध्ययन प्रतिवेदनका अनुसार यो अवस्था सन् १९९० देखि नै उस्तै रहेको छ । जसले यौन हिंसाविरुद्ध हाम्रा प्रयासहरू अझै कम रहेकोतर्फ इंगित गर्दछ। आज काठमाडौंमा आयोजित बालकहरूप्रति हुने यौन हिंसाको विषयमा छलफल कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । भ्वाइस अफ चिल्ड्रेनको आयोजना तथा ‘भाइलेन्स अगेन्स बोइज नेशनल नेटवर्क’को सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालकहरूको पीडा बुझ्ने र सुन्ने अवस्था थोरै रहेको बताइन् । सन् २०२१ देखि निलो छाता दिवस मनाएर बालकहरूप्रति हुनेयौन हिंसाको घटनालाई विश्वसामु फैलाउनुका साथै बालक र बालिकाबीच रहेको नीतिगत विभेदका विषयमा पैरवी गरेको भन्दै भ्वाइस अफ चिल्ड्रेनले गरेको नेतृत्वको प्रशंसा गरिन् ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्ण कुमार थापाले बालकहरूमाथि हुने यौन हिंसाविरुद्ध निलो छाता अभियान सञ्चालन गरिरहेको जानकारी दिंदै यसका लागि विश्वभरीबाट १ लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्रसंघमा बुझाउने लक्ष्य रहेको सुनाए । यसका लागि अनलाइन र अफलाईन दुवै माध्यमबाट हस्ताक्षर संकलन शुरु गरिएको र नेपालबाट मात्रै करिब ४० हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।

महिला, किशोरी तथा बालिकालाई मात्रै यौन हिंसा हुन्छ भन्ने बुझाइ रहेकोमा अप्रिल १६ लाई निलो छाता दिवसका रुपमा संयुक्त राष्ट्रसंघले मान्यता दिएमा बालकहरू पनि यौनहिंसामा पर्छन, सुरक्षा आवश्यक छ भन्नेमा जनचेतना जगाउन मद्दत पुग्ने थापाले बताए ।

कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनकी वरिष्ठ कार्यक्रम प्रबन्धक कृति भट्टराईले बालकमाथि हुने यौन हिंसाबारे विभिन्न तथ्यांकसहितको प्रस्तुत गरिन् । विभिन्न सामाजिक मूल्य मान्यता, पितृसत्तात्क सोचका साथै छोरा मान्छे सँधै बलियो भइरहनुपर्छ भन्ने अभ्यासका कारण बालकहरूले आफूमाथि हुने गरेको हिंसाबारे खुलेर बोल्न नसक्ने भट्टराईले बताइन् ।

युनिसेफको पछिल्लो अध्ययन प्रतिवेदन अनुसारविश्वभर ४१ करोडदेखि ५३ करोड बालक तथा पुरुषहरूले बाल्यवस्थामा नै यौन हिंसा भोगेका हुन्छन् । त्यो भनेको हरेक ७ मध्ये १ जना हो । यसमा पनि २४ करोडदेखि ३१ करोड बालक तथा युवा अर्थात हरेक ११ मध्ये १ जनाले बलात्कार तथा यौन हिंसा भोगेका तथ्यांक भट्टराईले प्रस्तुत गरिन् । पीडित बालकहरूलाई दिइनुपर्ने सेवा सुविधा तथा न्यायमा पहुँच निकै कम रहेको उनले उजागर गरिन् ।

कार्यक्रममा बोल्दै खोजतलास केन्द्रका डिएसपी महेश थापाले प्रहरीमा दर्ता हुन आएका मुद्दालाई गम्भीर रुपमा अध्ययन गरी पिडकलाई कानूनी दायरामा ल्याउने गरेको बताए ।

त्यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतले छोराहरू वा बालक पनि यौनहिंसामा पर्न सक्छन् भन्ने विषय निकै कम आउने गरेको बताइन् । यही कारण उनीहरूको सुरक्षाबारे अभिभावकको खासै चिन्ता नहुने गरेको तर्फ इंगित गर्दै बालकहरू आफ्नै नजिकका नातासम्बन्धबाट पनि दुर्व्यवहारमा पर्न सक्नेबारे सचेत हुनपर्ने बस्नेतले बताइन् ।

कार्यक्रममा साथी, सि डब्लु सीएन, सिविन नेपाल, हामी दाजुभाइ र भ्वाइस अफ चिल्ड्रेनका आवासगृहमा रहेका बालबालिकाले बालकमाथि हुने गरेको यौन हिंसाबारे तयार गरेका चित्रकला प्रर्दशनी पनि गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?