
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर महानगरपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ, मात्र ०.३२ प्रतिशत।
- पोखरा महानगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ, ३.७४ प्रतिशत।
- काठमाडौं महानगरपालिकाले २.४७ प्रतिशत बेरुजुको अवस्था देखाएको छ, जुन ठूलो बजेटको हिसाबले महत्वपूर्ण छ।
३१ वैशाख, काठमाडौं । देशका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु हुने महानगरपालिकामा मोरङको विराटनगर महानगरपालिका परेको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा महानगरहरूको बेरुजुको अवस्था अनुसार विराटनगरको कम र पोखराको सबैभन्दा धेरै देखिएको हो ।
विराटनगर महानगरको गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण भएको थियो । जसमध्ये २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ, जुन ०.३२ प्रतिशतमात्र हो ।
महानगरमध्ये दोस्रोमा ललितपुर महानगरको कम बेरुजु छ । ललितपुरको बेरुजु ०.५२ प्रतिशत अर्थात् १० अर्ब ६८ करोड ९७ लाख लेखा परीक्षण गर्दा ५ करोड ५५ लाख बेरुजु देखिएको छ ।
यस्तै चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख अर्थात् ०.९० प्रतिशत बेरुजु देखिएको हो ।
राजधानी समेत रहेको देशकै ठूलो बजेट चलाउने स्थानीय तह काठमाडौं महानगरमा २.४७ प्रतिशत बेरुजु देखिएको छ । महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको हो ।
पर्सा वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा ३.६२ प्रतिशत अर्थात् २२ करोड ७५ लाख बेरुजु देखिएको छ ।
यस्तै पोखरा महानगरमा महानगरमध्ये सबैभन्दा धेरै बेरुजु देखिएको छ । यसको १३ अर्ब ४६ करोड ७२ लाख लेखा परीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको हो, जुन ३.७४ प्रतिशत हो ।
प्रतिक्रिया 4