+

टेस्ट क्रिकेटमा ‘विराट’ युगको अन्त्य

२०८२ जेठ  १ गते १६:१९ २०८२ जेठ १ गते १६:१९
टेस्ट क्रिकेटमा ‘विराट’ युगको अन्त्य

१ जेठ, काठमाडौं । केही दिनअघि भारतीय क्रिकेटका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे । कप्तान रोहित शर्माले केही दिनअघि मात्र टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि कोहलीको निर्णयले भारतीय क्रिकेटलाई दोहोरो झट्का दिएको छ।

अब भारतले जुन महिनामा सुरु हुने पाँच टेस्टको इङ्ल्यान्ड भ्रमणमा आफ्ना दुई अनुभवी खेलाडीहरूबिनै प्रतिस्पर्धा गर्नुपर्नेछ।

कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्यास घोषणा गरेका थिए। उनका २७० मिलियनभन्दा बढी फलोअर्स छन्। उनले लेखेका थिए, ‘यो निर्णय सजिलो छैन, तर मलाई ठीक जस्तो महसुस भएको छ…’

कोहलीको सन्यासपछि विश्वभरबाट शुभकामना सन्देशहरू आइरहेका छन्। टेनिसका नोभाक जोकोभिच, फुटबलर ह्यारी केन जस्ता खेलकुदका दिग्गजहरूले पनि उनीप्रति सम्मान जनाएका छन्, जसले उनको विश्वव्यापी लोकप्रियता देखाउँछ।

सन् २०२४ को टी-२० विश्वकप जितेपछि रोहितसँगै टी-२०आईबाट सन्यास लिएका कोहली अब एकदिवसीय क्रिकेटमा मात्र सक्रिय रहनेछन् ।

कोहलीको क्रिकेट यात्रा

सन् २००८ मा भारतलाई अण्डर-१९ विश्वकप जिताएपछि कोहलीलाई तत्कालै राष्ट्रिय टिममा ल्याइएको थियो। त्यसबेला धेरैलाई उनको उमेरबारे शंका थियो, तर तत्कालीन चयनकर्ता दिलीप वेङसरकरले उनलाई मौका दिएका थिए।

कोहलीको क्रिकेटप्रतिको समर्पणको उदाहरण उनको दोस्रो रणजी खेलमा देखिएको थियो। बाबुको निधनपश्चात पनि उनी टिमका लागि मैदानमा उत्रिएर ९० रनको संघर्षपूर्ण पारी खेलेका थिए।

उनले सन् २००९ मा एकदिवसीय क्रिकेटबाट अन्तर्राष्ट्रिय डेब्यु गरे। २०११ मा विश्वकप विजेता टिमका सबैभन्दा कान्छा सदस्य बने। त्यसपछि २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट डेब्यु गरे। सन् २०१२-१३ मा अस्ट्रेलिया भ्रमणमा पहिलो टेस्ट शतक बनाएर उनी बलियो स्थानमा उभिएका थिए।

सुरुका दिनहरूमा आक्रामक र विवादास्पद व्यवहारका कारण आलोचना खेप्नुपरे पनि, उनले आफ्नो उत्कृष्ट प्रदर्शनबाट सबैको मन जिते।

सचिन तेन्दुलकरको सन्यासपछि कोहलीले जिम्मेवारी सम्हाल्दै इतिहासकै एक सफल क्रिकेट करियर निर्माण गरे। उनले टेस्ट, एकदिवसीय, टी-२० फर्म्याटमा शानदार प्रदर्शन गरे।

कीर्तिमान र उपलब्धिहरू

सन् २०११ मा डेब्यू गरेका विराट कोहलीले टेस्ट क्रिकेटमा १२ वर्षसम्म भारतको ब्याटिङ र कप्तानीमा ऐतिहासिक योगदान दिए। ६८ टेस्ट खेलमा कप्तानी गर्ने उनी पहिलो भारतीय बने, जसमा उनले ४० जित र ११ ड्र हासिल गरे। पराजय केवल १७ पटक भयो, जुन जम्मा २५ प्रतिशत हार दर हो।

५८.८२ प्रतिशत जित दरसहित उनी भारतकै सबैभन्दा सफल टेस्ट कप्तान मानिन्छन्। कोहलीको कप्तानीमा भारतले २०१८/१९ मा पहिलोपटक अष्ट्रेलियामा टेस्ट सिरिज जित्यो। साथै २०१६ देखि २०२१ सम्म पाँच वर्षसम्म भारत नम्बर १ टेस्ट टोलीको रूपमा रह्यो र पहिलो आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलसम्म पुग्यो।

ब्याटिङमा पनि उनले १२३ टेस्ट खेलमा ९२३० रन बनाए, जुन भारतका लागि सचिन तेन्दुलकर, राहुल द्रविड र सुनिल गावस्करपछि चौथो उच्चतम हो । ३० शतक र ७ दोहोरो शतकसहित उनी टेस्ट क्रिकेटमा सर्वकालीन महान खेलाडीको सूचीमा स्थापित भए। २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध पुणेमा बनाएको २५४* रन उनको टेस्ट करियरको उच्चतम स्कोर हो।

२०२० पछि उनको प्रदर्शनमा गिरावट आउँदै टेस्ट क्रिकेटमा औसत ५५ बाट घटेर ४६.७५ पुगेको छ । यद्यपी विराटको निरन्तरता, आक्रामक नेतृत्व र जितको भूखले भारतीय टेस्ट क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको छ।

कोहली एकदिवसीय क्रिकेटमा तेस्रो सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। उनले ५७.८८ औसतमा ५१ शतकसहित धेरै रन चेस जिताएका छन्। टी-२० मा पनि उनले ऐतिहासिक पारीहरू खेलेका छन् ।

आईपीएलमा उनी सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्। एक समय उनले तीनै प्रारूपमा औसत ५० भन्दा माथि राखेका थिए, जसले उनलाई आफ्नो पुस्ताको सर्वश्रेष्ठ ब्याट्सम्यान बनायो।

सन्यासको कारण र प्रभाव

अन्तिम पटक अस्ट्रेलियाको भ्रमणमा उनले पहिलो टेस्टमा शतक बनाएपनि बाँकी सिरिजमा कमजोर प्रदर्शन गरे। बढ्दो उमेर, परिवारसँग समय बिताउने चाहना, निरन्तर आलोचनाको चाप र क्रिकेट बोर्डभित्रको राजनीति समेत उनका सन्यासको कारण बनेका छन्।

कोहलीले आफ्नो अन्तिम सन्देशमा लेखेका छन्, ‘म टेस्ट करियरलाई सधैं मुस्कानका साथ सम्झिरहनेछु। #२६९ साइनिङ अफ’।

-बीबीसी र आईसीसीबाट भावानुवाद

विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय