+
+
Shares

‘कथक’सँग युवापुस्तालाई जोड्दै सुबिमा

काठमाडौंमा हुँदैछ ‘कथक भेला’

प्रतिक्षा रिजाल प्रतिक्षा रिजाल
२०८२ जेठ ५ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथक नृत्यलाई नेपाली समाजमा स्थापित गर्न ‘नृत्य आगन’ संस्थाले ‘कथक भेला’ आयोजना गरिरहेको छ।
  • सुबिमा श्रेष्ठले कथकलाई नेपाली सांस्कृतिक संवाद र भावनात्मक गहिराइसँग जोड्ने प्रयास गर्दैछिन्।
  • सिजन २ मा कथकको कथावाचन र भावलाई प्राथमिकता दिइएको छ र सबैका लागि खुला गरिएको छ।

काठमाडौं । शास्त्रीय नृत्यलाई केवल शारीरिक अभ्यास वा मनोरञ्जनको माध्यम मात्र मानिँदैन । यो नृत्य मनको भाषा हो, आत्मा र भावनाको संवाद हो । केही वर्षयता नेपाली सांस्कृतिक आन्दोलनमा यस्तो नृत्यलाई गहिरो अर्थमा बुझ्न थालिएको छ ।

यस परिवर्तनको अगुवाइको अग्रभागमा छिन् कथक नृत्यांगना सुबिमा श्रेष्ठ, जसले आफ्नै संस्था ‘नृत्य आगन’मार्फत कथक नृत्यलाई नेपाली समाजमा स्थापित गर्न भूमिका खेलिरहेकी छन् ।

श्रेष्ठको नेतृत्वमा सुरु भएको ‘कथक भेला’को दोस्रो संस्करण जेठ १० गते र १७ गते आयोजना हुँदैछ । कार्यक्रममा नृत्य मात्र नभई सामाजिक, सांस्कृतिक र आध्यात्मिक संवादको प्लाटफर्म बनाउने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताएकी छन् ।

दोस्रो सिजनले कथक नृत्यको शास्त्रीय सौन्दर्यलाई उजागर गर्दै नृत्यप्रेमीलाई परम्परागत र आधुनिकताबीचको सन्तुलन बुझाउने प्रयास गरिरहेको छ ।

यसबारे श्रेष्ठले अनलाइनखबरसँग भनिन्, ‘कथक भेला केवल नृत्य कार्यक्रम होइन, यो एक सांस्कृतिक संवादको मञ्च हो । यसले नृत्य सिक्ने विद्यार्थीदेखि दर्शकलाई जोड्ने अवसर प्रदान गर्छ । यस सिजनमा हामी कथकको शास्त्रीय रूपलाई भावनात्मक गहिराइसँग जोडेर प्रस्तुत गर्न चाहन्छौं ।’

उनले आफ्नो कथक यात्राबारे पनि कुरा गरिन् । भारतको दिल्लीस्थित श्रीराम भारतीय कला केन्द्रमा आठ वर्षसम्म नृत्य सिक्दा प्राप्त अनुशासन र गहिरो प्रशिक्षणबाट उनको कला निखारियो । ‘त्यहाँको अनुशासन र कला सिक्ने तरिकाले मेरो कथकमा गहिरो प्रभाव पारेको छ । नेपाल फर्किएपछि मैले यो कला नेपाली संवेदनामा अनुकूल बनाउन विशेष प्रयास गरेकी छु,’ उनले भनिन् ।

सन् २००९ मा स्थापना गरेको ‘नृत्य आगन’ संस्थाले कथक सिक्नेलाई मात्र नभएर इच्छुकलाई नृत्यमा सहभागी गराउने अवसर दिएको छ । सुरुमा चुनौति आएपनि निरन्तरता, समर्पण र लगनशीलताले कथकलाई नेपाली सांस्कृतिक पृष्ठभूमिमा स्थापित गर्न सफल भएको उनी बताउँछिन् ।

सिजन २ मा केही नयाँ पक्ष जोडिएका छन् । यसमा कथावाचन र भावलाई प्राथमिकता दिइने भएको छ । ‘शारीरिक प्रस्तुतिभन्दा आन्तरिक सन्देश र भावनात्मक गहिराइलाई केन्द्रमा राखिएको छ’ सुबिमाले भनिन्, ‘यसपटक हामीले कथकका शास्त्रीय तत्वलाई नेपाली सांस्कृतिक कथानकसँग जोड्ने प्रयास गरेका छौं । यसले कथकलाई अझ नजिक बनाउँछ र दर्शकलाई गहिरो अनुभूति दिन्छ ।’

सिजन २ को अर्को महत्वपूर्ण पक्ष भनेको यसलाई सबैका लागि खुला राख्नु हो । नृत्य शिक्षकदेखि लिएर नयाँ विद्यार्थी र साधारण नृत्यप्रेमीसम्मलाई सहभागी गराउने योजना छ । यसले कथकको पहुँच व्यापक बनाउने र नयाँ पुस्तामा यसको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ ।

नेपालमा कथकको महत्व र लोकप्रियता बढ्दो छ । पहिले यो कला सीमित क्षेत्रमा मात्रै सीमित थियो भने अहिले युवापुस्ताले आधुनिक दृष्टिकोणले हेर्न थालेका छन् । डिजिटल युग र सामाजिक सञ्जालले कथक नृत्यलाई विश्वव्यापी बनाएको छ भने नेपाली कथक भेला जस्ता कार्यक्रमलेस्थानीय विकासमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

युवापुस्तामा कथकप्रति विशेष आकर्षण रहेको उनको अनुभव छ । ‘डिजिटल माध्यमले कथकलाई विश्वव्यापी बनाएको छ । युवापुस्ता यसमा धेरै चासो देखाउँछन् । कथक भेला जस्ता कार्यक्रमले तिनीहरूलाई यस संस्कृतिसँग जोड्न सहयोग गर्छ,’ उनले भनिन् ।

उनले भविष्यमा कथकलाई व्यापक र समृद्ध बनाउन लागिपरेको बताइन् । साथै, नेपाली सांस्कृतिक पहिचानसँग कथकलाई जोड्ने र नयाँ पुस्तामा यसको लोकप्रियता विस्तार गर्ने उनको लक्ष्य छ ।

सुबिमाको नजरमा कथकको भविष्य उज्यालो छ । ‘जबसम्म हामी यसलाई केवल ‘विदेशी कला’ भनेर हेर्छौं, यो हाम्रो समाजमा गहिरो रूपमा बस्न सक्दैन । तर यदि हामी यसलाई हाम्रो भित्री संवाद, हाम्रो कथा, हाम्रो उत्सवको हिस्सा बनाउन सक्यौं भने कथक नेपाली सांस्कृतिक आत्माको एक अभिन्न स्वरुप बन्न सक्छ’ उनले भनिन् ।

‘नृत्य आगन’ संस्थाले विभिन्न सांस्कृतिक परियोजनामा काम गर्दै आएको छ, जसले कथकलाई नेपाली समाजमा स्थापित गर्न सहयोग पुर्‍याएको छ । यसले नृत्यका माध्यमबाट नेपाली सांस्कृतिक चेतनालाई पनि प्रवर्धन गरिरहेको छ ।

भेलामार्फत नृत्य कलाकार, शिक्षक र विद्यार्थीबीच अनुभव र ज्ञान साटासाट गर्ने सुबिमाको भनाइ छ । ‘कथकको शास्त्रीय र सांस्कृतिक तत्वलाई नेपाली भावनासँग जोडेर गरिएको प्रस्तुतिले दर्शकमा गहिरो प्रभाव पार्ने हाम्रो अपेक्षा छ’ उनले भनिन् ।

ग्राफिक्स : अरुण देवकोटा

लेखक
प्रतिक्षा रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?