
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा नौतले दरबार सर्वसाधारणका लागि खुला भएको छ।
- मन्त्री बद्रीप्रसाद पाण्डेले भूकम्पपछिको पुनर्निर्माण सफल भएको बताए।
६ जेठ, काठमाडौं । ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खुला भएको छ । भूकम्पले भत्किएको दरबार पुनर्निर्माणपछि सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो ।
हनुमानढोकामा मंगलबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नौतले दरबार खुला भएको घोषणा गरे ।
अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ का अवसरमा आयोजना गरिएको कार्यक्रम मन्त्री पाण्डेले भने, ‘नौतले दरबार उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ । भूकम्पले ढलाएका हाम्रा सम्पदा उठाउन सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
मन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा देखिएको प्राविधिक क्षमता र परम्परागत सिपको प्रशंसा गरे । ‘लिच्छवीकालमा जस्तै कलाकार आज पनि हुनुहुन्छ भन्ने प्रमाण काष्ठमण्डप र नौतले दरबार पुनर्निर्माणमा देखिएको छ । हाम्रो सभ्यता र पुर्खाहरूको कला–कौशलका प्रतिनिधि यी सम्पदा हुन्,’ उनले भने ।
नेपालको पुरातात्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको मन्त्री पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया 4