+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हुँदै नभएको लोडसेडिङ भयो भन्दै विदेशबाट फोन गरेर दुःख दिए : ऊर्जामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री दीपक खड्काले लोडसेडिङको भ्रम फैलाउने काम सामाजिक सञ्जालबाट भएको बताए।
  • उनले विद्युत् उत्पादन र निर्यात बढिरहेको र आवश्यकता अनुसार वितरण भइरहेको बताए।
  • खड्काले विद्युत् अवरुद्धको कारण उत्पादन कमी नभएको र मर्मतका कारण विच्छेद हुने बताएका छन्।

७ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै खड्काले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम भइरहेको बताए ।

‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक-पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैल्याउने काम भएको छ,’ उनले भने, ‘पटक-पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ ।’

विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणले कारणसहित सूचना दिने गरेको खड्काले स्पष्ट पारे ।

‘अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ,’ उनले भने, ‘उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौँ ।’

‘लोडसेडिङ हल्ला मात्रै’

मन्त्री खड्काले लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको जिकिर गरे ।

‘लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै हो । बेला बखत विद्युत् विच्छेद हुने अवस्था आजमात्रै होइन,’ उनले भने, ‘विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत् गएको पाइन्छ, कहिले हावाहुरी, कहिले ठूला-ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ ।’

उनले कहीँ मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था यो वर्ष नरहेको जिकिर गरे । ‘अब आगामी त झनै हुने खालको अवस्थै देखिँदैन । किनभने हामी उत्पादन बढाइरहेका छौँ,’ उनले भने ।

नेपालमा विद्युत् उत्पादन बढिरहेको उनले बताए ।‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत् आयात गर्‍यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत् बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो,’ उनले भने ।

मन्त्री खड्काले सरकारले विद्युत निर्यात गरिरहेको बताए । ‘अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौं,’ उनले भने ।

‘उद्योगधन्दाहरूमा पर्याप्त बिजुली दिएका छौं’

मन्त्री खड्काले खड्काले उद्योगधन्दाहरूमा पर्याप्त विद्युत् दिएको दाबी गरे । यो हिउँदमा पर्याप्त विद्युत् दिन नसकेको भए पनि मंगलबार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत् दिइएको बताए ।

‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत् दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरुलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भन्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ,’ उनले भने, ‘यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’

मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताए । उनले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?