
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरणले शनिबार रातिबाट भारतलाई विद्युत निर्यात गर्न थालेको छ।
- प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले पानीको बहाव बढेसँगै विद्युत उत्पादन बढेको बताए।
- नेपालले यस वर्ष भारतबाट एक हजार मेगावाटसम्म विद्युत आयात गरेको र निर्यात बढी भएको जानकारी दिइएको छ।
७ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारत विद्युत् निर्यात सुरु गरेको छ । शनिबार रातिबाट भारतमा विद्युत् निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिए ।
शनिबार राति २ सय मेगावाट विद्युत् निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी निर्यात भइरहेको उनले बताए ।
केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत् निर्यात गर्न थालेको हो । भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत मिलेको छ ।
नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत् उत्पादन भइरहेको प्रवक्ता शिल्पकारले जानकारी दिए ।
अहिले पिक समयमा १९५० मेगावाट विद्युत्को माग छ । नेपालका आयोजनाहरूबाट १९२५ मेगावाट हाराहारीमा विद्युत् उत्पादन भइरहेको उनको भनाइ छ ।
पिक डिमान्ड भएको समय र दिनमा भने अझै पनि भारतबाट विद्युत् आयात भइरहेको छ । मंगलबार भारतबाट २ सय ७८ मेगावाट विद्युत् आयात भएको उनले बताए ।
यो वर्षको सुख्या याममा नेपालले एक हजार मेगावाटसम्म विद्युत् भारतबाट आयात गरेको थियो । बर्खाका बेलामा नेपालले विद्युत् निर्यात गर्दै आएको छ ।
गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युत्को परिमाण बढी भएको थियो । अर्थात्, नेपाल खुद विद्युत् निर्यातक बनेको थियो ।
अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत् आपूर्ति भइरहेको उनले बताए ।
देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियान भएको उनले बताए । विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता कुराको कुनै तथ्य नपाइएको उनले बताए।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कहीँ विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको जिकिर गरे।
प्रतिक्रिया 4