+
+
Shares

विमानस्थलको घटनामाथि विस्तृत अनुसन्धान सुरु भएको छ : अख्तियार

अख्तियार उच्च स्रोतले भन्यो, ‘सहसचिव तीर्थराज भट्टराई लगायत केहीलाई बिहीबार बिहानैदेखि बयान लिन थालिएको छ । अरु केही कर्मचारी र एजेन्टहरू समेत अनुसन्धानको दायरामा छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने मानव तस्करीको घटनामा अनुसन्धान थालेको छ।
  • बुधबार छाडिएका सहसचिव तीर्थराज भट्टराईसँग बिहीबार पुन: बयान सुरु भएको आयोगले जनाएको छ।
  • अख्तियारले प्रारम्भिक सूचनाको आधारमा अनुसन्धान गरी प्रमाण संकलन गरेको र अरु व्यक्तिहरूको पनि अनुसन्धान हुनसक्ने जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकहरुलाई सेटिङमा विदेश पठाउने र मानव तस्करी गरेको घटनामाथि विस्तृत अनुसन्धान शुरु गरेको छ ।

दर्ता भएका उजुरीका आधारमा निगरानी र थप केही सूचना संकलन गरेपछि सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको भन्दै अख्तियारले अनुसन्धान अधिकृत तोकेर बुधबारदेखि नै विस्तृत अनुसन्धान अघि बढाएको हो ।

‘अनुसन्धान अधिकृत तोकिएलगत्तै उहाँलाई नियन्त्रणमा ल्याएर सोधपुछ गरेका हौं,’ अख्तियार उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँ लगायत केहीलाई बिहीबार बिहानैदेखि बयान लिन थालिएको छ । अरु केही कर्मचारी र एजेन्टहरू समेत अनुसन्धानको दायरामा छन् ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बुधबार नियन्त्रणमा लिइएका सहसचिव हसचिव तीर्थराज भट्टराईलाई केही सोधपुछपछि छाडिएको र बिहीबारदेखि फेरि सोधपुछ शुरु भएको बताए ।

उनका अनुसार, उपकरण लगायतका केही प्रमाणहरू संकलन भइसकेकाले थुनामा राख्नुपर्ने आवश्यकता नभएको हो । उनले भने, ‘रंगेहात घुसको घटना अनि प्रमाण नष्ट गर्नसक्ने अवस्थामा बाहेक कुनै पनि व्यक्तिलाई पक्राउ नगर्ने आयोगको रणनीति नै छ ।’

अख्तियारले आफूकहाँ आउने सूचनालाई प्रारम्भिक रूपमा अनुसन्धान गर्छ । प्रारम्भिक छानबिनपछि उजुरीमा सत्यता देखिएमा अनि भ्रष्टाचार भएको हुनसक्ने आधार भेटेमा आयोगले अनुसन्धान अधिकृत तोकेर विस्तत अनुसन्धान तोक्छ । विमानस्थलको घटनामा अख्तियारले अनुसन्धान अधिकृतहरूको टोली नै गठन गरेर अनुसन्धान अघि बढाएको हो ।

अख्तियारका प्रवक्ता पौडेलले भट्टराई पक्राउ परेको घटना आफूलाई थाहा भए पनि त्यसबाहेक अरु पक्राउ परेकोबारे थप सूचना नआएको बताए । तर अख्तियारसम्वद्ध स्रोतका अनुसार, सहसचिव भट्टराईबाहेक अरु ३ जना व्यक्तिहरू पक्राउ परेका छन् र उनीहरू कर्मचारी होइनन् ।

‘उनीहरूमाथि सोधपुछ र केरकार चलिरहेको छ । थप प्रमाणका आधारमा अरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने हुनसक्छ,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले हामीले पक्राउ परेका अरुको विवरण गोप्य राखेका छौं ।’

विमानस्थल अध्यागमनका कर्मचारीहरूले दुवई लगायतका मुलुकमा जाने नेपालीहरूलाई भिजिट भिसामा जाने क्रममा कागजात नपुगेको भनी फर्काउने गर्थे । तर, निश्चित मेनपावर र एजेन्टहरूसँगको सेटिङमा आउनेहरूलाई भने सहजै जान दिने गरेको र त्यसबापत एजेन्टहरूले रकम संकलन गर्ने गरेको आरोप छ । तिनै एजेन्टहरूसँगको नियमित सम्पर्क भएको भेटेपछि अख्तियारले सहसचिव भट्टराईलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?