
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजारले यस साता २.९४ प्रतिशत अर्थात् ७७ अंकले वृद्धि गरेको हो।
- गभर्नर नियुक्ति र सकारात्मक लगानी मनोबलले बजारलाई उचाल्यो।
- बैंकिङ सेक्टर सबैभन्दा बढी ७.२२ प्रतिशतले बढ्यो र आईपीओ/एफपीओ खुलिरहेका छन्।
९ जेठ, काठमाडौं । यो साता सेयर बजार २.९४ प्रतिशत अर्थात् ७७ अंक बढेको छ । गत साता २६११ अंकमा बन्द भएको सेयर बजार यो साता २६८८ अंकमा पुग्यो ।
नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति चर्चा र नियुक्तिपछि लगानीकर्तामा सकारात्मक भाव बढ्दा बजारले लय लिएको छ । यो साता मंगलबार सरकारले गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गरेको हो ।
साताको पहिलो दिन आइतबार २.७९ अंक घटेको बजार सोमबार १९.३० र मंगलबार ४९.०९ अंक बढ्यो । बुधबार फेरि ७.९४ अंक घटेको बजार बिहीबार १९.०४ अंक बढ्यो।
बजार बढे पनि कारोबार रकममा भने त्यति ठूलो अन्तर छैन । आइतबार ८ अर्ब ५० करोड, सोमबार ७ अर्ब ३५ करोड, मंगलबार ७ अर्ब ३१ करोड, बुधबार १० अर्ब ६९ करोड र बिहीबार ९ अर्ब ८२ करोडको कारोबार भयो ।
बैंकिङले उचाल्यो सेयर बजार
यो साता बैंकिङ सेक्टर सबैभन्दा धेरै ७.२२ प्रतिशत बढ्यो । बजारको सबैभन्दा बलियो सेक्टर भएकाले यसको सूचकले समग्र परिसूचकलाई नै उतारचढाव बनाउने गर्छ ।
बैंकिङ उच्च दरले बढ्दा यो साता मूल्य धेरै बढेका १० कम्पनीमा बैंकहरूकै वर्चस्व रह्यो । पाँच वाणिज्य बैंकको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो । सस्तो मूल्यका वाणिज्य बैंकमा बढी आकर्षण देखिएको छ ।
कारोबार बन्द हुँदाको बैंकिङ सूचक फागुन २५ यताकै उच्चतम अंकमा पुगेको छ । हाल बैंकिङ सूचक १३९५ अंकमा पुगेको छ । गत आइतबार यो सूचक १२९९ अंकसम्म झरेको थियो ।
व्यापार र हाइड्रोपावर बाहेक यो साता सबै सूचक बढे ।
आईपीओ/एफपीओ खुलेका छन् ?
यतिबेला सर्वसाधारणका लागि सान्भी इनर्जीको आईपीओ खुलिरहेको छ । जेठ १३ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
विकास हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि खुलिरहेको छ । गोरखा जिल्लाका प्रभावित र वैदेशिक रोजगारमा रहेकाले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै जेठ १४ देखि ट्रेड टावरको आईपीओ सर्वसाधारणलाई खुल्नेछ । जेठ १९ गतेसम्म यस कम्पनीमा आवेदन दिन सकिनेछ ।
सन नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीका लागि भने हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । वैशाख ४ गतेसम्म कायम सेयरधनीले जेठ १९ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
विश्वका सेयर बजारमा यो साता ‘करेक्सन’
यो साता विश्वका ठूला स्टक मार्केटमध्ये धेरैजसो घटेका छन् । अमेरिकाको डाओजोन्स इन्डेक्स यो साता १.१७ प्रतिशत घट्यो ।
यद्यपि यो सूचक विगत एक महिनामा भने ५.६९ प्रतिशत बढेको छ । एस एण्डपी ५०० सूचक यो साता १.४७ प्रतिशत घटेको छ भने विगत एक महिनामा ८.६७ प्रतिशत बढेको छ ।
सांघाई कम्पोजिट इन्डेक्स यो साता ०.५२ प्रतिशत घटेको छ । यो सूचक विगत एक महिनामा भने १.५८ प्रतिशत बढेको छ । जापानको निक्की इन्डेक्स यो साता १.१० प्रतिशत घटेको छ । विगत १ महिनामा यो सूचक ६.५७ प्रतिशत बढेको छ ।
बीएसई सेन्सेक्स यो साता ०.५५ प्रतिशत घटेको छ । विगत एक महिनामा भने यो सूचक २.१२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया 4